कृष्णनगर वाणिज्य संघका अध्यक्ष कुटपिट प्रकरणको जाहेरी दर्ता
नारायण वली,
प्रकाशित २०८३ असार ३१ बुधबार
196
Shares
लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणको घटना प्रकरण अन्ततः कपिलवस्तु प्रहरीले गएराति अबेर जाहेरी दर्ता गरेको छ ।
शुरूमा प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि पीडित पक्षले डेलिगेसन बुझाएको थियो । जाहेरी दर्तासँगै अब घटनामा संलग्न भनिएकाहरुमाथि अनुसन्धानको बाटो खुलेको छ ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षलाई संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाह नेतृत्वको समूह निवासमा प्रवेश गरेको प्राप्त सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।
कुटपिटबाट घाइते भएका अध्यक्ष शर्माले भैरहवा मेडिकल कलेजमा उपचारारत अवस्थामा र सोही दिउँसो डिस्चार्ज भएपछि तौलिहवामा पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले आफूमाथि सांघातिक आक्रमण भएको बताउँदै दोषीमाथि कारबाहीका लागि प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले उल्टै जाहेरी लिन नमानेको बताउँदै यो घटनामा प्रहरीलाई राजनीतिक दबाब परेको र आफुलाई न्याय पाउनबाट वञ्चित गराउन खोजिएको गुनासो गरेका थिए ।
उक्त घटना बारेमा प्रहरीमा जाहेरी दर्ता नभएपछि मंगलबार पूर्व संविधान सभा सदस्य दीर्घनारायण पाण्डे, पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री ईश्वर दयाल मिश्र र समाजसेवी रविदत्त मिश्र लगायत टोली सुरक्षा संयन्त्रले पीडित पक्षको जाहेरी दर्ता गर्न नमान्नु आपत्तिजनक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) मनोहर प्रसाद भट्टलाई भेट गरी डेलिगेसन बुझाएको थियो ।
डेलिगेसन टोलीमा गएका पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री इश्वर दयाल मिश्रले प्रहरीले मुद्दा दर्ता नगर्नुले कानूनी राज्यको उपहास भएको भन्दै ध्यानाकर्षण गराएको बताए ।
कपिलवस्तु प्रहरीले सो घटनाका बारेमा जाहेरी दर्ता भएको जनाएको छ ।
यता असार २९ गते आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै घटनामा संलग्न रहेको भनिएका सांसद अभिषेकप्रताप शाहले आफूलाई भ्रामक र निराधार आरोप लगाएको भन्दै खण्डन गरेका छन् । सांसद शाहले क्यासिनोमा गएका बेला केही युवाहरूले गरेको कुटपिट भएको घटनालाई लिएर आफू त्यस क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले अध्यक्ष शर्माको घरमा घटना मिलाउने उद्देश्यले गएको जनाएका छन् ।