arrow

परमाणु पनडुब्बी बनाउने जानकारी बेच्न खोज्दा, अमेरिकी नौसेना इन्जिनियर पक्राउ

एफबीआईका एजेन्ट बनेका थिए विदेशी प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
FBI.jpeg

काठमाडौं । अमेरिकी परमाणु पनडुब्बीको डिजाइन र अन्य गोप्य जानकारी बेच्न खोजेको आरोपमा नौसेना इन्जिनियर पक्राउ परेका छन् । विदेशी सरकारका प्रतिनिधि सोचेर ती इन्जिनियरले उक्त जानकारी एक व्यक्तिलाई बेच्न खोजेका थिए।

तर, ती व्यक्ति अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)का एजेन्ट थिए । यो आपराधिक क्रियाकलापमा संलग्न आरोपमा ४२ वर्षीय जोनाथन टोब्बे र ४५ वर्षीय उनकी श्रीमती डायना टोब्बे पक्राउ परेका हुन् ।

यसरी चल्याे एफबीआईकाे मिसन

एफबीआईका अनुसार यो घटना सन् २०२० को अप्रिलबाट सुरु भएको थियो । त्यति बेला जोनाथन टोब्बेले एक विदेशी सरकार (नाम नखुलाइएको)लाई अमेरिकी परमाणु पनडुब्बीका डिजाइन, निर्माणलगायतका विभिन्न गोप्य जानकारी बेच्न तयार भएको भन्दै कागजात पठाएका थिए ।

उक्त कागजातमा फिर्ता गर्ने ठेगाना पेन्सिलभेनियाको पिट्सबर्ग सहर उल्लेख थियो । एफबीआईले गत डिसेम्बरमा सो कागजात फेला पारेको थियो । त्यसपछि एफबीआईले टोब्बेमाथि मिसन सुरु गरेको थियो ।

जसमा एफबीआईकै एजेन्ट विदेशी प्रतिनिधि बनेर टोब्बेलाई सो जानकारीका लागि 'क्रिप्टोकरेन्सी'मा हजारौँ डलर भुक्तानी गर्न तयार भएका थिए ।

यसका लागि ई-मेलमार्फत थप कुराकानी हुँदै गर्दा गत जुनमा एफबीआईले टोब्बेलाई सुरुवातीरुपमा १० हजार अमेरिकी डलर क्रिप्टोकरेन्सीमा पठाएको थियो ।

त्यसपछि पहिलाे पटक जानकारी लिनका लागि एफबीआईका एजेन्ट र टोब्बेबिच पश्चिम भर्जिनियाको एक ठाउँमा भेट तय भएको थियो । जसका लागि एफबीआईले टोब्बेलाई २० हजार अमेरिकी डलर दिएको थियो ।

टोब्बे सो स्थानमा आफ्नी श्रीमती सहित पुगेका थिए। त्यसपछि टाेब्बेले विदेशी प्रतिनिधि साेचेका एफबीआईका  एजेन्टलाई प्लास्टिकमा बेरिएको एउटा नीलो मेमोरी कार्ड दिएका थिए ।

सो मेमोरी कार्डमा  भर्जीनिया वर्गकाे परमाणु क्षमताकाे पनडुब्बीको डिजाइन तत्त्वहरू र त्यसको खुबीलगायतका बिशेषतासहितका जानकारीहरू थिए । 

त्यसपछि एफबीआईले चलाएका अन्य मिसनमा टोब्बेले थप जानकारी दिँदै गएका थिए ।

अगस्तमा एफबीआईले टोब्बेलाई ७० हजार अमेरिकी डलर दिँदा उनले चुइगमको प्याकेटमा लुकाएर थप जानकारीसहितकाे अर्को मेमोरी कार्ड दिएका थिए ।

यो सबै जानकारी  अमेरिकी न्याय विभागले आइतबार दिएको हाे।

यसरी कानुन विपरीत गाेप्य जानकारी बेच्न खाेज्ने टाेब्बे पश्चिम भर्जिनियाको मार्टिनसबर्ग अदालतमा मङ्गलवार प्रारम्भिक चरणमा उपस्थिति हुने बताइएको छ ।

सन् २०१२ देखि अमेरिकी सरकारका लागि काम गर्दै आएका टोब्बे एक शीर्ष अधिकारीका रूपमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ