- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । आइतबार बुटवलको मोतीपुर स्थित रानीगंजमा भएको झडपले यति वेला सो क्षेत्र सुरक्षाकर्मीहरूको बाक्लो घेरामा राखिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा दिनभर तैनाथ गरिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गालाई सुकुम्वासी खुलेको छ, भन्ने अफवाहले लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र अन्य बाह्य जिल्लाहरू बाट बस समेत रिजर्भ गरेर आउने र रोकाउने कार्यले अन्ततः रणभूमिमा परिणत हुन पुग्यो ।
पटक पटक सो क्षेत्रमा गएर प्रहरीले सम्झाई बुझाई र माइकिङ गर्ने जस्ता कार्य गर्दै, आएका वेला आइतबार प्रहरीले बिहानै देखि अस्थायी टहरा हटाउन खोज्दा औद्योगिक क्षेत्र अतिक्रमण गर्न गएका नागरिक र प्रहरी बिच झडप हुँदा चार जना नागरिकको ज्यान गयो भने, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नागरिकहरू घाइते भए ।
पछिल्लो समय लिमिटेडको नाममा रहेको उक्त जग्गामा मोतीपुर औद्योगिक क्षेत्रलाई विस्तार गर्ने र बुटवललाई औद्योगिक हब बनाउने उद्देश्यले तत्कालीन सरकारले योजना ल्याएको भए पनि राजनीतिक अस्थिरता कारण हाल सम्म सफल हुन सकेको छैन ।
जबकि, पाँच वर्ष भित्र सो मोतीपुर औद्योगिक क्षेत्र निर्माण गरी सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि तर स्थानीय बासीहरूले बर्षौ देखी बस्दै आएका सुकुम्बासीहरुलाई वैकल्पिक उचित व्यवस्था नगर्दा सम्म मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य हुन नदिने अडान गर्दै आएकाले अलपत्र हुँदै आएको हो ।
यसअघि तत्कालीन समयमा विष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट विनियोजन गरी आयोजना निर्माण गर्नका लागि तत्कालीन उद्योग मन्त्री लेखराज भट्टलाई लिएर शिलान्यास गर्न लाग्दा पनि स्थानीहरूले पौडेल र भट्टलाई कालो झन्डा देखाउनुको साथै, ढुंगामुढा समेत गरे । बाक्लो सुरक्षाको पहरामा पौडेलले शिलान्यास गरे पनि, मञ्च बाट बाहिरिन पर्यो ।
प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्र बुटवल उपमहानगरपालिका १७ र १८ मा पर्दछ । जहाँ, औद्योगिक ग्रामको रूपमा विकास गर्ने भनेर तत्कालीन सरकारले सो योजना ल्याएको हो ।
लगातार रूपमा तोकिएको औद्योगिक क्षेत्रमा नागरिकहरूले लिमिटेडको नाममा छ भन्ने थाहा पाए पनि जबरजस्ती रूपमा कब्जा गर्ने र अन्त्यमा सुकुम्वासीलाई सरकारले दिन बाध्य हुन्छ, भन्ने बुझाइले गम्भीर मोडमा पुर्याएको छ ।
आइतबार भएको झडपमा सुरक्षाकर्मी र सर्वसाधारण गरि ७४ जना घाइते भएका छन्। झडपमा परी नेपाल प्रहरीका ३३, सशस्त्र प्रहरीका २३ र स्थानीय १८ जना घाइते भएको प्रहरी जिल्ला कार्यालयका प्रहरी प्रमुख मनोज केसीले जनाएका छन् ।
गम्भीर घाइते भएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना गरी ४ जनालाई थप उपचारका लागि सोमबार काठमाडौँ रिफर गरिएको उपरीक्षक केसीले बताएका छन् ।
घाइते मध्ये हाल नेपाल प्रहरीका ९ जनाको उपचार भइरहेको छ, भने र अन्य उपचार पछि फर्किसकेका छन् । यस्तै, सशस्त्र प्रहरी तर्फ घाइते भएकाहरू मध्ये काठमाडौँ लगिएका २ जना बाहेक अरू उपचार पछि फर्किसकेको बताइएको छ।
यस्तै, झडपमा परी घाइते भएका नागरिकहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत हवलदार तिलक बहादुर धामी र जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता निराकरणनाथ शुक्लाले बताएका छन् ।