arrow

पूर्व राजा ज्ञानेन्द्रले भने : राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताएका छन्।

विजयादशमीका उपलक्ष्यमा मङ्गलवार भिडिओ सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल जस्तो मुलुकमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बोध भएको भनेका हुन्।

उनले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएकोसमेत भिडिओ सन्देशमा भनेका छन्। शाहले देशको राजनीति राजनीतिक स्वच्छता, जनप्रियता र जनआकाङ्क्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको भनेका छन्। 

उनले दसैँका अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा शान्ति र सुखको लागि शुभकामना समेत व्यक्त गरेका छन्।

पूर्व राजा शाहले ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ भन्दै भिडिओ सन्देशमार्फत प्रश्नसमेत गरेका छन्।

उनले शिक्षा तथा स्वस्थको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको भनेका छन्।

यस्तै सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति सङ्कटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले सन्देशमा भनेका छन्।

प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति अस्थावान भए पनि राष्ट्रपतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले लिएको उनले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ