arrow

गठबन्धनका नेता र प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : नेता सिंह 

आइजिपी र सुशीला कार्की काण्ड सम्झन देउवालाई अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
prakashman-congress.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । 

उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको जोड थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टीकरण दिनुपर्ने बताए । 

बुटवल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए । “गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,” उनले भने,“ प्रचण्ड जी ले काँग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्‍यो नि। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ।”

नेता सिंहले प्रधानमन्त्री देउवालाई आफू प्रम हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा काँग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गरे । कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीले विशेष निगाहले काँग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो । 

फरक प्रसङ्गमा उनले मोतीपुर घटनाको यर्थाथ सार्वजनिक गर्न माग गरे । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उनले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डलामा आएकाहरूमाथि पुलिस लगाएको भन्दै उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले जनताको दुःखलाई बेवास्ता गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ