arrow

मोतीपुर घटना : निषेधाज्ञा यथावत्, कर्फ्यु मङ्गलवार राति १२ बजेसम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
motipur-jhadap.jpg

रुपन्देही । बुटवलको मोतीपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्यु मङ्गलवार राति १२ बजे देखि हट्ने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मङ्गलवार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाइएको कर्फ्यु रातिको १२ पछि हट्ने जनाएका छन्।

बुटवल उप-महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्वासीका नाममा टहरा बनाउने समूह र प्रहरी बिच आइतबार झडप हुँदा प्रहरीको गोली लागेर ४ जना सर्वसाधारणको मृत्यु भएको र प्रहरी सहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु लगाइएको तेस्रो दिनमा सो क्षेत्रको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्यु हटाए पनि तर भदौ २८ गते देखि नै जारी गरिएको निषेधाज्ञा भने यथावत् रहने जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनको सूचना अनुसार पूर्वतर्फ तिनाउ नदी  बुटवल- १७ देखि वडा नम्बर १८ सौरहिया पुल सम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन बुटवल-१७०, उत्तर शिव नगर रानीगञ्ज बस्ती बुटवल उप महानगरपालिका वडा नम्बर १७ र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन धन्दापुर सौरहिया सम्मको क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय द्वारा जारी सूचनामा बताइएको छ ।

यसैबिच झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरूप प्रति परिवार ५ लाख रुपैयाँ र प्रदेश सरकारका तर्फ बाट प्रति परिवार १ लाख रुपैयाँ प्रदान गर्न सिफारिस भएको जनाएका छन् ।

सबै घाइतेहरूको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरेको विज्ञप्तिमा जनाइएको छ ।

No description available.



नयाँ