arrow

मोतीपुर घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर : इन्सेक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
motipur-jhadap.jpg

काठमाडौं । मोतीपुर घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ । असोज २६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन्  ।

'पीडित नागरिकहरूको अधिकार र न्यायको सुनिश्चितता गर्न नेपाल सरकारसँग इन्सेक जोडदार माग गर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्वासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाण गङ्गा नपा-१० का ४८ वर्षीय रमेश परियार रहेको प्रहरीले जनाएको  छ ।

मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसै गरी शुद्धोदन गाउँपालिका-५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भई हाल तिलोत्तमा नपा, शङ्कर नगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको हो ।

सो घटनामा सशस्त्र प्रहरी बलका तर्फबाट अत्यधिक बल प्रयोग भएका कारण मानवीय क्षति भएको प्रारम्भिक सूचनाले देखाएको इन्सेकले जनाएको छ ।

सुकुम्वासी बस्तीका प्रदर्शनकारीलाई प्रदर्शनका क्रममा संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न पनि इन्सेकले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ