arrow

जापानमा प्रतिनिधि सभा विघटन

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज २८ बिहिबार
fumio kisida.jpg

टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधि सभा विघटन गरेका छन् । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । 

यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । 

यहाँको प्रतिनिधि सभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए  ।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए ।प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ