- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मनसुन सकिइसके पनि वर्षा हुने क्रम रोकिएको छैन । मनसुन सकिएको केही दिनमै अहिलेसम्मकै बढी वर्षा भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभर वर्षा भएको छ । वर्षा हुने क्रम बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा चिसोसमेत बढेको छ ।
हाल देशको अधिकांश भूभागमा सामान्य बदली रही देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा समेत भएको छ ।
वर्षा धेरै भएका कारण विभिन्न स्थानमा सचेतना अपनाउन अनुरोध समेत गरिएको छ । प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सचेतना अपनाउन अनुरोध गरिएको हो ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा भयो ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिपायलमा १८७.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धनगढीमा १४०.२ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै घोराहीमा ९०.२, भैरहवामा ७६.३, वीरेन्द्रनगरमा ८४.४, जुम्लामा ६८.६, विराटनगरमा ६७.२ तथा पोखरामा ६७ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै धनकुटामा ४७.५, जनकपुरमा ४२.४, ओखलढुङ्गामा २७.१, नेपालगञ्जमा २५, सिमरामा १४, ताप्लेजुङ्गमा ७.५ तथा ३.६ मिलिमिटर वर्षा भएको छ ।
हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।
बेमौसमी वर्षाका कारण अबौंको बाली भित्र्याउन ठिक्क परेका किसानले ठूलो क्षति बेहोर्नु परेको छ । खेतमै धान डुबेको छ । अन्य बालीसँगै फलफूल र तरकारीमा ठूलो नोक्सानी भएको छ ।
सडक खण्डहरु अवरुद्ध भएका छन् ।