- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको दुई महिना नपुग्दै अफगानिस्तानका लागि अमेरिकी राजदूतले राजीनामा दिएका छन्। तालिबान र अमेरिकाबीचको वार्ताको नेतृत्व समेत गरेका अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले सोमबार राजीनामा दिएका हुन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै खलिलजादको स्थानमा उनका सहायक टोम वेस्टले पदभार सम्हाल्ने बताएका छन्। टोम वेस्टले पनि कतारको दोहास्थित दूतावासबाट कार्यभार सम्हाल्ने छन्।
‘म खलिलजादलाई उनले दशकसम्म गरेको सेवाप्रति आभार व्यक्त गर्न चाहन्छु र विशेष प्रतिनिधि वेस्टलाई सोही पदमा स्वागत गर्न चाहन्छु,’ ब्लिन्केनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि अक्टोबरको सुरुमा दोहामा भएको अमेरिकाको तालिबानसँगको पहिलो आधिकारिक वार्तामा खलिलजाद सामेल थिएनन्।खलिलजादकै नेतृत्वमा २०२० को फेब्रुअरीमा अमेरिका–तालिबान शान्ति सम्झौता भएको थियो। सोही सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लगेको हो।