arrow

सेती नदिमा पानीको बहाव बढ्दै, ‘हाई अलर्ट’मा प्रशासन (भिडियो)

logo
प्रकाश बम,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
west-seti-river-doti.jpg

डोटी। दिपायलको सेती नदीमाथिको मोटरपुल खतराम परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ। तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको जनाएको छ। नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय डोटीले सबै नागरिकलाई आग्रह गरेको छ।

सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थालेको स्थानीय टेकराज उपाध्यायले बताए। उनले भने, “नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ।” बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताए। उनले भने, “बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ।”

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुलपाते जनाएको छ। सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताए। उनले भने, “सेतीमा निकै ठुलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ।”

जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ। बर्सातका कारण सोमबार दिउँसोदेखि जिल्लामा विद्युत् सेवा सँगै टेलिफोन सेवा पनि अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण कार्यालय दिपायलले जनाएको छ। कार्यालयका अनुसार पहाडी जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो। अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी परिचालन गरिएको भए पनि वर्षा नरोकिएका कारण मर्मत गर्न सकिएको छैन।

डोटीको गोपघाट र दिपायलस्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जल सतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ।

सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसिद बनेका छन्। नदीमा पानीको बहाव बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताए।

उनले भने, “जिल्लाका सबै ठाउँमा बाढी आएको छ, विशेष गरी सेती नदीमा पानीको बहाव अधिक भएकाले नदी आसपास बस्ती भएका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौँ ।” लगातारको बर्सातका कारण बाढी पहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीन वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन दिइएको समेत प्रजिअ विष्टले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ