arrow

सेती नदीको टापुमा ५० जना फसे, पश्चिम नेपालमा मात्रै एक हजार बढी घर परिवार प्रभावित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
natural-disaster-seti-river.jpg

काठमाडौं। मनसुनपछिको बेमौसमी वर्षासँगै सेती नदीमा आएको बाढीमा ५० जना फँसेका छन्। बैतडीको सिगास गाउँपालिका ५ मा पर्ने डुंगाड बस्तिमा सेती नदी पसेपछि ५० जना फँसेका हुन्। सो स्थानमा पानीले बस्ति नै डुबाएको छ भने उनीहरु नदीले काटेर बिचमा बनाएको टापुमा उद्धारको प्रतिक्षामा छन्।

सो स्थानमा बैतडी र डोटीलाई जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएपछि उद्धारमा समस्या भइरहेको छ। अहिले त्यहाँ फँसेका स्थानीयको उद्धारका लागि प्रदेश सरकार र केन्द्र सरकारसँगको समन्वयमा सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाउँने तयारी भइरहेको नेपाल प्रहरीले जनाएको छ।

गत शनिबार अपरान्हपछिको निरन्तरको वर्षाका कारण देशभर एक हजार भन्दा बढी घर परिवार प्रभावित भएका छन्। भारतको केराला हुँदै नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गरेको वर्षाका कारण सबै भन्दा बढी नेपालको पश्चिमी क्षेत्र प्रभावित बनेको छ। यस्तै झापादेखि पुर्वतर्फसमेत बेमौसमी वर्षको असर देखिएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पश्चिम राप्तीदेखि पश्चिमतर्फको क्षेत्रमा बेमौसमी वर्षाको असर देखिएको छ । यस्तै पूर्वमा झापादेखि पूर्व असर देखिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार कंचनपुर, बझाङ, बर्दिया, डडेलधुरा, कालिकोट लगायतका जिल्लामा वर्षको असर बढी देखिएको छ।

पोखरेलका अनुसार कालिकोटमा वर्षासँगै आएको पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने डडेलधुरामासमेत एक जनाको ज्यान गएको छ।

यसैगरी कंचनपुरमा दुई सय घर प्रभावित बनेको छ। त्यहाँ ६० घर धुरीलाई सुरक्षित स्थानमा सारिएको छ। यसैगरी दोधारा चाँदनी नदिबाट प्रभावित बनेका ६० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

यसैगरी बझाङमा प्रहरी कार्यालय भित्र पानी पसेपछि विद्यालयमा सारिएको छ।

यस्तै बर्दियामा ५० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। कंचनपुरमा उद्धारको पर्खाइमा रहेकाहरुको उद्धार गर्न गृह मन्त्रालयसँगको समन्वयमा हेलिकप्टर पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ