arrow

ईश्वर पोखरेलको ज्योतिषवाणी – ‘अवसरवादी र सिद्धान्तहीन गठवन्धन छिट्टै चकनाचुर हुन्छ’

logo
हरि पन्त, 
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
ishwor-pokharel-uml-pokhara.jpg

हरि पन्त, पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठवन्धनभित्र अवसरवादी र सिद्धान्तहीनमात्र भएकाले गठवन्धन धेरै दिन टिक्न नसक्ने र चकनाचुर हुने टिप्पणी गरेका छन् । नेकपा एमाले कास्कीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएकोमा गठबन्धनभित्र अवसरवादी र अनैतिक झुन्ड रहेको बताएका हुन् ।

नेता पोखरेलले भने, ‘गठवन्धन मुलुकको आर्थिक विकास र समृद्धिलाई रोक्नका लागि, मुलुकमा भएको राजनीतिक स्थायित्वलाई धराशायी बनाउनका लागि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि समाजमा अराजकतालाई बढावा दिनका लागि, सामाजिक सद्भावलाई खल्बल्याउन र विदेशी सामू घुँडा टेक्नका लागि बनाइएको हो । यसका विरुद्ध एमाले दृढतापूर्वक उभिन्छ ।’

हिजो जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरेर परमादेशबाट बनेको सरकारलाई एमालेले भण्डाफोर गरेर अघि बढ्ने, त्यो सरकारले गर्न चाहेका कामलाई जनता सामू राख्दै अघि बढ्ने उनले बताए । उनले सरकारमा हुँदा एमालेले उठाएका मुद्धालाई दृढतापूर्वक उठाउँदै अघि बढ्ने र कहिल्यै पनि विचलित नहुने स्पष्ट पारे ।

समाजमा स्थायित्वका लागि आफ्नो अठोटबाट पनि एमाले विचलित नहुने भन्दै नेता पोखरेलले सबै शक्ति एक ठाउँमा उभिएर, अपवित्र गठवन्धन बनाएर एमालेलाई एक्लाइएको बताए । एमालेले आर्थिक विकास र समृद्धिका मुद्धा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव र जनताका सपनालाई अघि बढाउँदै अघि बढेकाले जनताले विश्वास गरेको भन्दै उनले अबका दिनमा पनि यिनै मुद्धा अघि बढाउने प्रतिवद्धता जनाए । 

‘नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ । एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुःख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सद्भावको कुरा गर्छ, हामी यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ’, नेता पोखरेलले भने, ‘अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादी, सिद्धान्तहीन, अनैतिकहरुको झुन्ड छ, यी दुईवटा ध्रुवमध्ये हामीले रोज्ने भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो ।’

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले प्रथम विधान महाभिवेशनबाट एमाले हिजोभन्दा पनि बलियो भएर अघि बढ्ने शक्ति प्राप्त भएको स्पष्ट पारे ।

नेता पोखरेलले एमालेबाट चोइटिएर गएकाहरुको भविष्य नभएको भन्दै समाप्त हुने दावी समेत गरे । एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै उनले विगतमा भएको विभाजन पनि नटिकेको बताए ।

उनले भने, ‘अहिले देखा परेका नकारात्मक धारहरु कोको नेता गए, कोको नेताहरु चोइटिएर गए । त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन ।’

एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले गठवन्धनबाट बनेको वर्तमान सरकार नेपाली जनताको समृद्धिको बाधक र दलाल, नोकरशाही र पूँजीपति वर्गको मत्तियार भएको बताए । 

नेपाली जनताको इच्छा र आवश्यकता पूरा गर्न नभई माधव नेपालले कांग्रेस र माओवादीको इच्छा पूरा गर्न पार्टी फुटाएको उनको आरोप छ ।

एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले एमाले देशमा अझै पनि हराभरा भएर आउने भन्दै पार्टीको तथाकथित र सेटिङबाट गरिएको विभाजन स्वीकार्य नहुने बताए । 

उनले पोखरा एयरपोर्ट, पोखरा मुग्लिन सडक बनाएरै छाड्ने भन्दै उनले एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाएरै छाड्ने स्पष्ट पारे । 

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव दामोदर बैरागीले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ