arrow

सुदूरपश्चिममा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
bajhang-landslide.jpg
थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा परेर बेपत्ता भएका २३ जनाको पहिरोस्थलमा बुधबार खोजी गर्दै स्थानियहरु । तस्बिर : रमेश केसी

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ।

यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ। डोटीको सायल गाउँपालिकामा छ जना, जोरायल गाउँपालिकामा छ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

सायल गाउँपालिका–६ का १४ वर्षीय सागर कुञ्जेडा, ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको छ। यस्तै सोही गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ। सायल गाउँपालिका–५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

जोरायल गाउँपालिका–३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक र सोही गाउँपालिका–१ का सचिन विकको पनि पहिरामा पुरिएर मृत्यु भएको छ। शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्धरा बलायरको पहिराको ढुङ्गा टाउकामा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ।

उता बझाङमा बाढीपहिराले सात जनाको मृत्यु भएको छ। पहिरामा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो। खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नं ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशीको पहिरामा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहले बताए।

पहिरामा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटर लगाएर निकालिएको थियो। यस्तै अविरल वर्षासँगै आएको पहिराले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर मृतकको सनाखत भने हुन सकेको छैन। 

गाउँपालिकाको वडा नं ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टरमार्फत डिख्ला पुगेको छ। पहिराले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १४८ परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। विस्थापित ७०० जना विद्यालयमा बसिरहेका छन्। नेपाली सेनाको हेलिकप्टरमाफर्त पहिरामा परेकाहरुको उद्धार र खोजीकार्यका लागि आवश्यक राहत र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।

उता बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका रामी पार्कीको घर पहिराले बगाउँदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा, २४ वर्षीया भानु र तीन वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सुर्नया गाउँपालिका–५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ।

यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ। टीकापुर नगरपालिका–८ कालीमाटीका करवीरे ढोलीको ज्यान गएको हो। सुदूरपश्चिममा अझै २५ जना बेपत्ता भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ