- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलको सपना खुबै देखाए । तर कामभन्दा पनि हल्लामै बढी समय खर्च गरे । जनकपुरमा आइसकेको रेल चलाउन पनि उनले चासो राखेनन् । यसैबीचमा प्रधानमन्त्री फेरिए । तर जनकपुरमा ल्याइएका २ वटा रेल चलेनन् । अझै पनि घुम्टो ओढेरै बसेका छन् ।
जयननगरदेखि कुर्थासम्म गुडाउन भनी ल्याइएका २ वटा रेल १३ महिनाभन्दा लामो समयदेखि थन्किएका छन् । ती रेलको वारेन्टी पनि सकिएको छ । रेलवे विभागका तत्कालिन महानिर्देशक बलराम मिश्रले भारतबाट रेल खरिद गर्दा १ वर्षको वारेन्टी कम्पनीले दिएको बताए ।
उनको पालामा २ वटा रेल खरिद गरिएको थियो । एक वर्षसम्म रेल सञ्चालनमा कुनै त्रुटी देखिए त्यसको सबै जिम्मेवारी लिने कम्पनीले प्रतिबद्धता गरेको थियो । तर दुःखको कुरा एक वर्षसम्म नेपालमा रेल चलेनन् । चलाउन भनी ल्याइएका रेल घुम्टो ओढेर बसेका छन् । ती २ रेलको रेखदेख र हेरचाह गर्न उल्टै राज्यको व्ययभार थपिएको छ । घुम्टो ओढेर बसेको बेला वारेन्टीको अवधि पनि सकिएको छ ।
रेलवे विभागले भारतबाट २ वटा रेल खरिद गरी २०७७ असोज २ गते जनकपुर भित्र्याएको २ थियो । ८४ करोड ८७ लाख रुपैयाँमा ती रेल भारतको कोन्कन रेलवे कम्पनीसँग खरिद गरिएको थियो ।
रेल सञ्चालन गर्न भनी ओली सरकारले रेलवे कम्पनीको महाप्रवन्धकमा गुरुप्रसाद भट्टराईलाई नियुक्त गर्यो । भट्टराईले रेल सञ्चालनमा भन्दा पनि ओलीको बचाउमा बढी समय खर्च गरे । सरकारको नेतृत्व फेरिएपछि कम्पनीको महाप्रवन्धक पनि फेरिएका छन् । हाल कम्पनीको महाप्रवन्धकमा निरञ्जन झा आएका छन् ।
रेल सञ्चालन गर्न भन्दै तत्कालिन महाप्रवन्धक भट्टराईले २ सय कर्मचारी भर्ना गरे । उनीहरुले झण्डै एक वर्षसम्म काम नै नगरी तलब बुझे । भट्टराई हटेपछि ती कर्मचारीहरु पनि हटाइएका छन् ।
स्रोतका अनुसार रेल सञ्चालनको लागि दक्ष कर्मचारी, भौतिक पूर्वाधार तथा तयारी अझै पूरा भएको छैन । यहाँसम्म कि रेल सञ्चालनको लागि ड्राइभरसमेत भारतबाट ल्याउनु पर्छ ।
रेलवे विभागका एक कर्मचारीले भने, ‘यो दुई देशको सम्बन्धको कुरा पनि हो । त्यसैले यसमा भारतले पनि चासो राख्नुपर्छ ।’
कोरनाको कारण देखाएर झण्डै एक वर्षसम्म रेल सञ्चालनमा आएनन् । कोरनाको महामारी सकिने बित्तिकै सञ्चालनमा ल्याउने भनियो । अहिले कोरोनाको महामारी कम भएको छ । अब ती रेल कहिले सञ्चालनमा आउने हुन् कसैलाई थाहा छैन ।