arrow

वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन सुशील कोइराला फाउन्डेसनको माग

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
paddy-farmer-rice=kartiki2078.jpg
लगातारको वर्षाले भिजेको र बाढीले बगाएर बचेको उम्रिन लागेको परालसहितको धान कैलालीको टीकापुर नगरपालिका–७, हुलाकी राजमार्ग अन्तर्गत सडक छेउमा सुकाउँदै किसान। तस्बिरः झलनाथ खनाल

काठमाडौँ। सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेको छ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा सयौँको ज्यान जाने गरी भएको यो प्राकृतिक प्रकोपबाट पीडित भएकालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी राहत एवं पुनः स्थापनाको कामसमेत छिटो गर्न सरकारसँग माग गरेको छ। 

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्याङ्कन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ। भित्र्याउने बेलाको अन्न खेतबाटै नाश हुँदा वर्षभर काम गरेका किसान महान् पर्व बडादसैँ मनाइरहेका बेला दुःखी बनेका छन्। बाढी पहिरोले भौतिक संरचनालगायतमा पनि ठुलो क्षति पुगेको छ। दुःखको यस घडीमा उद्धार, राहतलगायत सहयोगमा जुट्न फाउन्डेसनले आह्वान गरेको छ।

भित्र्याउने बेलाको अन्नबाली गुमाएका किसान, घर, आवास गुमाएका नागरिक, सदस्य गुमाएका परिवारलाई विपद्को यो घडीमा सक्दो सहयोग गर्नु राज्यको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ