arrow

धानबालीको क्षति विवरण सङ्कलन गर्दै बुटवल उपमहानगरपालिका

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
paddy-farmer-rice-damage-report-butwal.jpg

रुपन्देही। केही दिन अघि परेको बेमौसमी वर्षाले रुपन्देही सहित देशका विभिन्न जिल्लाहरूमा लगाइएको धानबालीमा क्षति पुर्‍यायो। जसका कारण किसानहरू वर्षभरिको  धानबाली भित्र्याउने वेला क्षति बेहोर्नू परेको छ। धान पाकेर काटिसकेको र केही नकाटेको अवस्थामा परेको वर्षाले किसानहरूको धानबाली नोक्सान हुन पुगेको हो।

यसैबिच, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरभित्र रहेको खेतीयोग्य जमिनमा रहेको धान बालीको अनुगमन गरी क्षति पुगेका किसानहरूलाई राहत दिने गरी कदम थालेको उपमहानगरपालिकाका प्रेस संयोजक अमृत गिरीले जनाएका छन्।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिए सँगै शुक्रवार देखि विवरण लिने काम भएको बताइएको छ।

उपमहानगरपालिकाले क्षतिको विवरणका आधारमा तत्काल राहतका कार्यक्रम बनाउने तयारी रहेको बताएको छ। कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरू सहितको टोलीले वर्षाले क्षति पुर्‍याएको कृषि क्षेत्रको निरीक्षण एवं अनुगमन सुरु गरेका छन्।

निरीक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षति पुगेको, तरकारी र फलफूलका बिरुवामा नर्सरीमा क्षति पुगेको पाइएको सो टोलीले जानकारी दिएको छ।

बुटवलमा हाल करिब ३१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकेको अवस्था छ भने, त्यसमध्ये ३ प्रतिशत धानमा क्षति पुगेको टोलीको भनाई छ।

वर्षातले पारेको क्षतिको विवरण सङ्कलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमन प्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल मिश्र लगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवा प्रसाद लुइँटेलले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ