arrow

कोरोनाको डेल्टा प्लस भेरिअन्ट झन् चाँडो सर्ने

logo
सिन्ह्वा
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
corona-covid-delta-plus.jpg
फाइल तस्बिर

लण्डन। बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्टा प्लस भेरिअन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ। सो निकायका अधिकारीहरूले शुक्रवार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ।

यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ। तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक सङ्केत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन्। अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरूको निष्कर्ष छ।

बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। ती मध्ये डेल्टा भेरिअन्ट बाट सङ्क्रमितहरू नै धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। उनीहरूले डेल्टा प्लस भेरिअन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन्।

स्वास्थ्य अधिकारीहरूले दिएको विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन्। भाइरस उत्परिवर्तन भइरहने हुँदा नयाँ भेरिअन्ट देखा पर्नुलाई आश्चर्यजनक रूपमा लिनु नपर्ने उनीहरूको भनाई छ। अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

त्यसै गरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर सङ्क्रमितहरूको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाई रहनुपर्नेतर्फ भने अधिकारीहरूले जोड दिएका छन्। कोरोनाभाइरसले आफ्नो रूप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरूले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन्।

साथै मास्क लगाउने, स्यानिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्ने लगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन्। त्यसै गरी कोठाका झ्याल ढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरूले आह्वान गर्ने गरेका छन्।

कोरोनाभाइरसले रूप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरूले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरूले सतर्क गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ