arrow

जलवायु प्रकोप : एक्काइसौं शताब्दीमा पृथ्वीको तापक्रम २.७ डिग्री सेल्सियस बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
climate change.jpg

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रम (यूएनईपी)ले एक्काइसौं शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने नयाँ रिपोर्ट सार्वजनिक गरेको छ ।

अहिले विभिन्न देशहरूले कार्बन उत्सर्जन घटाउन गरेको प्रतिबद्धता अनुसार यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम २.७ डिग्री सेल्सियस बढ्ने उक्त रिपोर्टले जनाएको हो ।

अक्टोबर ३१ देखि स्कटल्यान्डको ग्लास्गो शहरमा जलवायु परिवर्तन रोक्ने सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम कोप-२६ सम्मेलन हुँदैछ । त्यसको पूर्व सन्ध्यामा यूएनईपीले डर लाग्दो रिपोर्ट सार्वजनिक गरेको हो ।

अहिले पृथ्वीको ७८ प्रतिशत कार्बन उत्सर्जनको जिम्मेवार जी-२० अन्तर्गतका मुलुकहरू रहेका छन् । यद्यपि ती देशहरूले नै कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उल्लेख्य किसिमका रणनीतिहरू बनाएका छैनन् । 

कार्बन उत्सर्जन कमी गर्नु विश्वभरका मुलुकहरूको जिम्मेवारी भए पनि विकसित मुलुकहरू बढी जिम्मेवार रहेको यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले बताएका छन् ।

अस्ट्रेलिया, साउदी अरेबिया,चीन, रूस जस्ता मुलुकहरूले जीवाश्म इन्धनको प्रयोग कटौती गर्ने कुरालाई मध्यनजर गरेको आरोप छ।

विश्वकै बढी कार्बन उत्सर्जन गर्ने चिनियाँ राष्ट्रपति कोप-२६ सम्मेलनमा सहभागी नहुने भएका छन् भने रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसमेत कोप २६ मा सहभागी नहुने भएका छन् ।

यी कुराले नै पनि शक्तिराष्ट्रहरु तापक्रम वृद्धि एवं जलवायु परिवर्तनको विषयमा अझै गम्भीर बन्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ ।

सन् २०१५ मा पेरिस सम्मेलनमा एक्काइसौं शताब्दीको अन्तसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढी बढ्न नदिन सहमति भएको थियो ।

त्यसका लागि सन् २०३० सम्म विश्वको कार्बन उत्सर्जन आधा र सन् २०५० मा शून्यमा झार्नु पर्नेछ । यद्यपि त्यस अनुसार कुनै पनि देशले काम गर्न नसकेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष छ ।

यसले जलवायु  सङ्कटलाई झनै चुनौतीपूर्ण बनाउने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ