arrow

महानिरीक्षकद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
Police-IGP-Namche-HK.jpg

नाम्चे। इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन्। 

उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्त्वपूर्ण रहने भन्दै सचेत रहनु पर्नेमा उनले जोड दिए । 

सोही कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भौतिक सुविधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रसमेतमा यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे। भवनको उद्घाटन पश्चात् पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गरिएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीले उनीसहित प्रहरी कार्यमा सहयोग गर्ने अन्य व्यक्तिलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरे । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कुल रु दुई करोड चार लाख ४७ हजार ८५५ को लागतमा एकःएक तले तीन भवन निर्माण गरिएको हो । कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवाललगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

यही कात्तिक १० गते महानिरीक्षक क्षेत्रीले इलाका प्रहरी कार्यालय लुक्लाको भवन उद्घाटन गरेका थिए। शनिवार खुम्जुङ प्रहरी चौकीको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ