- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेशको अस्थायी मुकाम तथा व्यापारिक केन्द्रको रूपमा फस्टाउँदै गएको रुपन्देहीको बुटवल सहर पछिल्लो समय धुलोको कारण कुरूप बन्दै गएको छ ।
बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहा देखि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा रोडमा खाल्डाखुल्डी भएको र अहिले उक्त खाल्डाखुल्डी पुर्नको लागि हालिएको मिस्कटले सवारी साधन आवागमन गर्दा धुलाम्मे भई सहर नै प्रदूषित बन्दै गएको हो ।
सवारी आवागमनले लुम्बिनी प्रादेशिक अस्पताल, विभिन्न निजी अस्पतालमा उपचार गराउन आउने र सोही सडक भएर बुटवलको मुख्य बजार अमर पथ, हाटबजार लाइन जानेहरू धुलोको कारण प्रभावित बन्न पुगेका छन् ।
धुलोले पैदल यात्री, व्यवसायी र सवारी साधन लगायतलाई समस्या निम्त्याएको छ । एक मेडिकल सञ्चालकले भने, 'धुलोका कारण पसलमा राखेको औषधि धुलाम्मे हुन्छ, चेकजाँच गराउन आउने बिरामीहरू पनि प्रभावित भएका छन् । व्यापारमा असर परेको छ ।'
पैदल यात्रीको पनि त्यस्तै गुनासो छ । हस्पिटल लाइनमा भेटिएका पैदल यात्री किरण मगरले भने, 'बुटवल बजार त आउने जस्तो पनि भएन छ, धुलो धुवाँले मुख छोपेर हिँड्नु पर्ने, धुलोले लगाएका कपडा समेत बिग्रिने अवस्था छ स्वास्थ्यमा असर गर्ने देखिन्छ ।'
केही दिन यता सडकमा पानी हाल्ने काम भए पनि, पानी हाल्दा सम्म धुलो नउड्ने, सुकेपछि अवस्था उही धुलाम्मे हुने गरेको छ । सोही सडक भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री देखि मन्त्री र सरकारी कर्मचारीहरू समेत ओहोरदोहोर गरे पनि सडकको अवस्था दिनहुँ जीर्ण बन्दै गएको छ ।
यस विषयमा बुटवल उपमहानगरले नगरभित्र पर्ने महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको धुलोले नगरवासी तथा व्यापारीहरूलाई सास्ती खेप्नु परेको भन्दै, सो सडक उप-महानगरपालिकाको अधिकारमा नरहेको जनाउँदै, सडक डिभिजन कार्यालयले हेर्न बताएको छ ।