arrow

नेपालमा फेरी कोरोना संक्रमण हुन नदिन सुरक्षा समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
balkrishna-sarkar.JPG

काठमाडौँ । नेपालमा कोभिड-१९ पुनः संक्रमण हुन नदिन अपनाउने सुरक्षा रणनीतिबारे सुरक्षा समितिमा छलफल भएको छ । सोमवार गृह मन्त्रालयमा  कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । 

छलफलको क्रममा बैठकमा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी व्यवस्थित रूपमा कोभिडको संक्रमण नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र मणि पोखरेलले जानकारी दिए । 

‘कोभिड-१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल गरिएको थियो ।  

बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिएका थिए । 

बैठक मुख्यतया कोभिड-१९ पुनः संक्रमण हुन नदिन के- कस्ता सुरक्षा रणनीति अपनाउने भन्ने विषयमा केन्द्रित थियो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्र मन्त्री डा. नारायण खड्का, रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदाश बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीसहितको सहभागिता थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ