चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट एक सय पाँच जनाको मृत्यु
तीव्र गति र लापर्वाही मुख्य कारण
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
558
Shares
काठमाडौँ । चितवन जिल्लामा गत एक वर्षको अवधिमा भएका विभिन्न सवारी दुर्घटनामा परि एक सय पाँच जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा जिल्लाभर जम्मा ५४५ वटा दुर्घटना भएका थिए, जसमा परी ९९९ जना घाइते भएका छन् (जसमध्ये ९७ जना गम्भीर र ९०२ जना सामान्य घाइते भएका छन्)। अघिल्लो आर्थिक वर्ष (आव २०८१/०८२) मा १२० जनाको ज्यान गएको थियो भने एक हजार ५० वटा दुर्घटनामा एक हजार ८७७ जना घाइते भएका थिए। यस हिसाबले अघिल्लो आवको तुलनामा गत वर्ष दुर्घटना र मृतकको सङ्ख्यामा कमी आएको छ।
सडकखण्डगत विवरणअनुसार पूर्व–पश्चिम लोकमार्गमा १३७ वटा दुर्घटना हुँदा ३४ जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ वटा दुर्घटनामा १० जनाको मृत्यु र १८० जना घाइते भएका छन् भने पृथ्वी राजमार्गअन्तर्गत २२ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु र ६२ जना घाइते भएका छन्। त्यस्तै, सहरी सडकखण्डमा ५५ वटा दुर्घटना हुँदा १४ जनाको मृत्यु र ७३ जना घाइते भएका छन् भने अन्य भित्री सडकमा भएका २८३ वटा दुर्घटनामा ४१ जनाको मृत्यु र ४७० जना घाइते भएका छन्।
कार्यालयको तथ्याङ्कअनुसार गत आवमा भएका दुर्घटनामध्ये ३८ प्रतिशत (२०९ वटा) तीव्र गतिका कारण भएका छन्। त्यसैगरी, २२ प्रतिशत (१२१ वटा) चालकको लापर्वाही, ९७ वटा यात्रुका कारण, ३५ वटा मादक पदार्थ सेवन गरेर, २८ वटा ओभरटेक गर्ने क्रममा, ३५ वटा सडकका कारण, ८ वटा यान्त्रिक समस्याका कारण, ६ वटा मौसमका कारण, ३ वटा पशुचौपायका कारण र ३ वटा अन्य कारणले सवारी दुर्घटना भएका छन्। प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार जिल्लामा भएका दुर्घटनाहरू साँझ र रातको समयमा बढी भएका छन्, जसमध्ये साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा सर्वाधिक २१४ वटा दुर्घटना भएका छन्।
जिल्लामा भएका दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन प्रभावित भएका छन्। दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको छ भने १८ जना पैदलयात्रीको सवारीले ठक्कर दिएर मृत्यु भएको छ। यसैगरी जीप तथा कारको ठक्करबाट ८, टेम्पो दुर्घटनाबाट ८, शारीरिक शक्तिबाट चल्ने साधनबाट ७, बस दुर्घटनाबाट ५, ट्रक तथा ट्याङ्करबाट ३, माइक्रोबाट १ र पहिचान नखुलेका सवारीसाधनबाट ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।
कार्यालयले एक वर्षको अवधिमा नियम उल्लङ्घन गर्ने १० हजार ८० सवारी चालकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेहरूमा १ हजार ३७९ जना मादक पदार्थ सेवन गरेका र १०० जना लागुऔषध सेवन गरेका चालकहरू रहेका छन्। अन्य ट्राफिक नियम पालना नगर्ने चालकहरूसमेਤ कारबाहीमा परेका छन् र उनीहरूबाट कुल एक करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।