- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका पदका लागि एकै चरणमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ।
आयोगले राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचनका विषयमा तयारी थालेको हो।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्त र सचिवसहितको टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी उपनिर्वाचन बारे छलफल गरेका थिए।
सो छलफल अनुसार आयोगले आगामी २० फागुनमा रिक्त हुने राष्ट्रिय सभाका १९ पदमा उपनिर्वाचन गर्न ७ माघको मिति प्रस्ताव गरेको थियो। राष्ट्रिय सभा कानुन अनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नु पर्छ।
आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले भने दलहरुसँग परामर्श गरेर निणर्य दिने बताएका थिए। यसैगरी आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यको उपनिर्वाचनका लागि आयोगलाई सहजीकरण गर्न पनि आग्रह गरेको छ।
सरकारसँगको परामर्शमा आयोगले नै प्रदेश र प्रतिनिधि सभा उपनिर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ। आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छ। आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचन एकै दिन र एकै चरणमा गर्न सरकारसँग आग्रह गरेको हो।
‘आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सरकारसँग आग्रह गरेको छ, त्यसका लागि आयोग तयार छ, हामी सरकारको रायको पर्खाइमा छौं,’आयोग स्रोतले भन्यो।
आयोगले प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको उपनिर्वाचन भने छोटो समय बाँकी कार्यकाल रहेका कारण गरिरहनु नपर्ने र सिधै निर्वाचनमा नै जान प्रस्ताव गरेको थियो।
आयोगका अनुसार ५ जेठमा स्थानीय तहको वर्तमान निर्वाचित कार्यसमितिको म्याद सकिने छ। जस अनुसार आयोगले स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको जनाएको छ।