- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । यसपटकको बाढी पहिरोबाट डोटीमा मृत्यु भएकाहरुका परिवारलाई नेपाल सरकारका तर्फबाट राहत रकम वितरण शुरु गरिएको छ । नेपाल सरकारका तर्फबाट आएको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण शुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबारसम्म आठ जना मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले सकेसम्म मृतकका घरमै पुगेर राहत रकम हस्तान्तरण गर्ने काम भइरहेको बताए ।
उनका अनुसार मंगलबार सायल गाउँपालिका १ रोकायागाउँका मृतक वीरे रोकाया, सोही गाउँपालिका ४ भल्मा गाउँका मृतक जंग विष्ट, वडा नम्बर ५ डुमरीका मृतक हिरूवा लुहार, सोही वडाको भालुमेलाका मृतक देव डुम्रेलका आफन्तलाई सरकारका तर्फबाट दुईलाख रकम हस्तान्तरण गरिएको छ ।
यस्तै सायल गाउँपालिका ६ अम्तोडामा एउटै घरका दुईजना मृतक आशषि कुन्जेडा र सागर कुन्जेडाका बुबा डिलबहादुर कुन्जेडालाई तीन लाख नगद राहत हस्तान्तरण गरिएको छ ।
उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी विष्ट, प्रहरी उपरीक्षक दान बहादुर मल्लसहितको टोलीले सायल गाउँपालिकाको मेल्लेखमा पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए ।
सो राहतसंगै नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले पिडित परिवारलाई भाँडाकुडा, कम्वल र अन्य लुगाकपडा उपलब्ध गराएको छ ।
यसअघि शिखर नगरपालिका ११ का मृतक मन्धरी बलायरका आफन्तलाई पनि घरमै गएर दुईलाख राहत रकम राहत वितरण गरिएको थियो ।
मंगलबारै बोगटान फुड्सिल गाउँपालिका ५ मा घर भत्केर मृत्यु भएकी चनरी नेपालीका पति ईन्द्र नेपालीलाई पनि दुई लाख रकम हस्तान्तरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
यसपटकको बाढी पहिरोबाट जिल्लामा १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन् । सरकारबाट प्राप्त मृतकहरुका लागि आएको राहत दिन बाँकी मृतकका आफन्तलाई बुधबार राहत प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए ।
उनले भने, ‘अहिले मृतकहरुलाई नेपाल सरकारबाट प्राप्त राहत वितरण गरिरहेका छौं । अन्य पीडितका लागि बाँकी रकम र अन्य सरकारबाट आउने रकम आएपछि यथासीघ्र उपलब्ध गराउँछौं ।’