arrow

प्रधानमन्त्री देउवाले कोको सँग गरे भेटवार्ता ?

logo
भीष्मराज ओझा,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
deuba-biden.JPG

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले विभन्न शक्ति राष्ट्रहरुका प्रमुख लगायत विशिष्ट व्यक्तिसँग भेटवार्ता गरेका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवाले विभन्न शक्ति राष्ट्रहरुका प्रमुख लगायत विशिष्ट व्यक्तिसँग भेटवार्ता गरेका हुन् । 

मंगलवार प्रधानमन्त्री देउवासँग बेलायतका रक्षा मन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन्। सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षा मन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गरेको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भू उपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँग विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड-१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गरेको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिए । 

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाको मङ्गलवार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गरेका थिए ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उनले नेपालका तर्फबाट सम्बोधन गरेका थिए । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका थिए । 

वुधवार नोभेम्बर ३ तारेख स्थानीय समयानुसार बिहान १०:३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नछन् । 

उनी नेतृत्वको प्रतिनिधिमण्डल वुधवारै इडिनबर्ग विमानस्थलबाट कतारको दोहाहुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुगेका थिए। अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप-२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ