arrow

बंगलादेशमा हिन्दूहरुमाथिको आक्रमण बन्द गर्न नेपाल जनता पार्टीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
nepal-janataparty.jpg

काठमाडौं । नेपाल जनता पार्टीले मुस्लिम राष्ट्र बगलादेशमा हिन्दू मन्दिर र हिन्दूहरुमाथि भएको बर्बरतापूर्ण आक्रमणप्रति विरोध जनाएको छ ।

नेपाल जनता पार्टीका बरिष्ठ नेता सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै हिन्दू धर्मावलम्वीमाथिको आक्रमण रोक्न, हिन्दू मन्दिरहरुलाई सुरक्षा दिन र बंगलादेशका हिन्दू लगायत अन्य धार्मिक अल्पसंख्यक समूहलाई धार्मिक अतिवादीहरुबाट सुरक्षाको ग्यारेन्टी प्रदान गर्न शेख हसीना वाजेद नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।

‘बंगलादेशमा हिन्दू विरोधी धार्मिक अतिवादीहरुले कैयौं हिन्दू/बौद्ध मन्दिर ध्वंस पारेका छन्, पवित्र मूर्तिहरु तोडफोड गरेका छन्, आतंकपूर्ण हमलामा कैयौं घर तोडफोड गरिएको छ । यस क्रममा ३० जना हिन्दूहरुको हत्या पनि भएको छ । हिन्दू धर्मावलम्वी विरुद्धको यस बर्बरतापूर्ण आक्रमणको श्रृंखला तत्काल रोक्न, हिन्दू मन्दिरहरुलाई सुरक्षा दिन र बंगलादेशका हिन्दू लगायत अन्य धार्मिक अल्पसंख्यक समूहलाई धार्मिक अतिवादीहरुबाट सुरक्षाको ग्यारेन्टी प्रदान गर्न नेपाल जनता पार्टी शेख हसीना वाजेद नेतृत्वको सरकारलाई आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

बंगलादेशी हिन्दूहरु माथिको आक्रमण धार्मिक आस्था माथिको स्वतन्त्रता र अन्ततः प्रजातन्त्र माथि नै आक्रमण भएको उक्त पार्टीको ठहर छ । यस्ता घटना रोकिएन भने प्रजातन्त्रप्रेमी विश्व समुदायले बंगलादेशलाई माफी नदिने बरिष्ठ नेता गौतमले बताए । यसप्रकारको अल्पसंख्यक विरुद्धको घटनाले अन्य देशमा रहेका अल्पसंख्यक इस्लाम धर्मावलम्वीहरुमाथी प्रतिक्रिया हुन सक्ने सरकारले बुझन जरुरी रहेको उनको भनाइ छ ।

‘हिन्दुहरुमाथि यस्तो बर्बर आक्रमण हुँदा पनि कुनै प्रतिक्रिया नजनाई मौन समर्थनको मुद्रामा बस्ने नेपाल सरकार, सरकारभित्र र बाहिर रहेका राजनीतिक दलहरु, कथित नागरिक समाज र हिन्दुत्वको कथित नारा लगाएर राजनीति गर्ने व्यक्ति तथा समूहहरुप्रति नेपाल जनता पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ’, विज्ञप्तिमा अघि भनिएको छ, ‘यस घटनाले उनीहरुको हिन्दू विरोधी र धर्म विरोधी असली अनुहारलाई उदाङ्ग पारेको मात्र छैन धार्मिक आतंकवाद तथा धार्मिक द्वन्द्वको आगोमा स्वार्थको रोटी सेक्न पछि नहट्ने चरित्र स्पष्ट पारेको छ ।

धर्मप्रेमी तथा धार्मिक सद्भावनामा विश्वास राख्ने सम्पूर्ण नेपाली जनताले यसका निम्ति समय क्रममा उनीहरुलाई प्रत्यक्ष दण्डित गर्नेछन् । नेपाल जनता पार्टी हिन्दु-बौद्ध र अन्य धार्मिक अल्पसंख्यकहरुको पक्षमा, धार्मिक सद्भाव र शान्तिको पक्षमा रहेको छ र यस क्रममा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्न सदा अग्रसर एवं सक्रिय रहनेछ’, विज्ञप्तिमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ