- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमालेको दशौं महाधिवेशन नजिकिदै गर्दा उपाध्यक्ष भीम रावलका लागि कठिन दिन शुरु भएको छ । माधव नेपालको साथ छाडेर एमालेमै रहेका रावलको आगामी पोजिशन के हुने निश्चित नहुँदा समस्यामा परेका हुन् ।
महासचिव इश्वर पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष सिर्जना भैसकेको र रावललाई पुनः उपाध्यक्षमा दोहोरिन नचाहेकै कारण समस्या उत्पन्न भएको हो । ‘उहाँ अब उपाध्यक्षमा दोहोरिन हुन्न वरिष्ठ उपाध्यक्ष उहाँले चाहेको पद हो’, रावल निकट स्रोतले भन्यो । तर विधानमा एक मात्र वरिष्ठ उपाध्यक्ष भएकाले त्यो पद इश्वर पोखरेलकै लागि हो भन्ने करिब करिब निश्चित जस्तै हो ।
एमाले र माओवादी मिलेर २०७५ जेठ ३ गते नेकपा बनेपछि सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावललाई बनाइयो । माओवादीमा २०६३ देखि निरन्तर सो प्रदेशका इन्चार्ज रहँदै आएका लेखराज भट्टलाई हटाएपछि रावल इन्चार्ज बनेका थिए ।
‘अहिले रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाएपछि रावलले बखेडा झिकिरहेका बेला आगामी महाधिवेशनमा उनका लागि फलामै चिउरा सरह भएको छ’, एमालेका एक नेताले भने । उनका अनुसार ओलीले रावलको बखेडालाई मन पराएका छैनन । ओलीले रावल भन्दा अष्टलक्ष्मी शाक्यलाई पुनः उपाध्यक्षमा दोहोर्याउने नीति बनाइहेका छन् ।
‘महिला भएकै कारण अष्टलक्ष्मी शाक्यले दशौ महाधिवेशनपछि पनि उपाध्यक्ष नै हुने संभावना रहेको छ उहाँको जिम्मेवारी दोहोरिने अवस्था छ’, एमालेका स्थायी कमिटी सदस्यले भने । १० बुँदे सहमतिपछि एमालेमै रहेका नेताहरुको उचित जिम्मेवारी हुने पनि ती सदस्यको भनाई छ ।
असार २७ गते गरिएको १० बुँदे सहमतिलाई आधार मान्दै एमालेमै रहेका १० जना मध्ये घनश्याम भूषाल र रावलले ओलीलाई अप्ठेरो पार्ने, ओलीका कदमलाई विरोध गरेका कारण ओली समूहका केही नेताहरु उनीहरुलाई पाखा लगाउन खोजिरहेका एमाले नेताहरुको दावी छ । सर्वोच्च अदालतले नेकपा भंग गर्ने निर्णय गरेपछि एमालेमै रहेका भट्टलाई एमाले अध्यक्ष ओलीबाट पुरस्कृत भैरहेका छन् ।
ओलीले २०७७ फागुन २८ मा भीम रावललाई हटाएर लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाए । ११ वर्ष निरन्तर इन्चार्ज रहेका उनी २ वर्ष (२०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म) त्यत्तिकै बस्नुपरेको थियो । तर, भीम रावल एमालेमा ओलीको विपक्षमा उभिएपछि उनले फेरि इन्चार्ज पद प्राप्त गरेका थिए । भीम रावल एमालेमा फर्केपछि भट्टको इन्चार्ज पद फेरि खोसिने बनाइएपनि ओलीले रावल भन्दा भट्टलाई काखी च्यापे ।
अबको महाधिवेशनमा भट्टको पदीय हैसियत के हुने भन्ने बारेमा अत्तोपत्तो नभपनि रावललाई भने ओलीको किचन क्याविनेटमा रहेका कर्ण थापा लगायतका नेताहरुले शक्तिमा आउन नदिने लागिरहेका छन् । अहिले शक्ति गुमाएका का रावललाई लामो समयदेखि दरिलो साथ दिँदै आएका नेतादेखि सो प्रदेशका केही प्रभावशाली सांसदले समेत साथ छाडेका छन् ।
अछाम जिल्लाका अध्यक्ष शेरबहादुर कुँवरदेखि सुदूरपश्चिम प्रदेशका ७ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सांसदले रावलको साथ छोडेका छन् । ठीक यसैगरी भट्टले पनि आफ्ना पुराना सहयात्रीको साथ गुमाएका छन् । लेखराजलाई जनयुद्धकालदेखि सहयोग गर्दै आएको बलियो टिम उनको साथमा छैन ।
माओवादी केन्द्रका एक केन्द्रीय सदस्य भन्छन्, ‘पहाड र तराई दुवैमा उनले आफ्ना बलिया खम्बा गुमाइसकेका छन् । एमालेका नेताहरु पार्टी जेठ २ मा फर्केको बताइरहेका छन्। तर, एमालेका पूर्वमाओवादी नेताहरु भने त्यसलाई स्वीकार्न तयार छैनन् ।
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुमाथि अन्याय भए विद्रोह गरेर हिँड्ने चेतावनी दिए भने आगामी निर्वाचनमा समेत असजिलो पर्ने आँकलन गरिरहेका ओलीले तराइ मधेश बलियो बनाउन प्रभु साहलाई च्यापिरहेका छन् । साहले एमालेको केन्द्रीय कमिटीको बैठक समेत बहिष्कार गरेका थिए । तर ओलीले साहको मागलाई पूरा गरे रावलको मागलाई भने पूरा गर्न सकेनन । उल्टै १० बुँदेको औचित्य सकिएको जानकारी गराएका थिए ।
‘दशौ महाधिवेशन लाग्यो १० बुँदे सहमति भनेर गीत गाउनुको औचित्य छैन ओलीसँगै मिलेर काम गर्नुपर्ने अवस्था छ रावलले यो विषय बुझेपनि आफ्नो पदीय हैसियत के हुने भन्ने अन्यौल हुँदा ओलीको विपक्षमा उभिएका हुन्’, एमाले एक स्थायी कमिटी सदस्यले भने ।
एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले माओवादीका नेताहरु समेत मिलाएर नयाँ एमाले बनेको र पहिलाको जिम्मेवारी यथावत् रहेको अवस्थामा १० बुँदे भन्दै बरालिने अवस्था नभएको बताए । उनले कतिपय स्थानमा १० बुँदे लागु भैसकेको र केही ठाउँमा लागु हुन बाँकी भएपनि अब विस्तारै अन्र्तघुलन हुने बताए ।
‘माओवादीबाट आउनुभएका साथीहरुको बारेमा दस बुँदे सहमतिमा स्पष्ट रुपमा लेखिएको छ, सो सहमतिअनुसार उहाँहरु आआफ्नो जिम्मेवारीमा हुनुहुन्छ, अन्य साथीहरुको हकमा पनि जिम्मेवारी स्पष्ट भैसकेको अवस्थामा महाधिवेशनमा जुट्नुको विकल्प छैन’, नेम्वाङले भने ।