राजा जनकको प्रश्न - मनुष्य कसबाट प्रकाशित भएर कार्य गर्छ ?
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
776
Shares
काठमाडौँ । एक पटक राजा जनकले महर्षि याज्ञवल्क्यसँग सोधे, 'महाराज मनुष्य दिनमा जब आफ्नो दिनचर्याको कार्यहरू गर्छ तब कसको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छ ?' याज्ञवल्क्य ऋषि जवाफ दिन्छन्,' राजन उनीहरू सूर्यको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छन् ।'
राजा जनक फेरी सोध्छन्,' महाराज जब सूर्यास्त हुन्छ सूर्य लुक्छ तब रात्रिमा कसको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति कार्य गर्छ ?' महर्षि याज्ञवल्क्य भन्छन्, 'तब चन्द्रमा र ताराहरूको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति काम गर्छ ।' सोधे महाराज जब उनीहरूको पनि प्रकाश हुँदैन अधेरी रात्रिमा जब आकाशमा बादल लाग्छ तब चन्द्रमा तारा देखिँदैन तब एक व्यक्ति कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि भन्छन्,'तब व्यक्ति वाणीको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ।' राजा जनक फेरि भन्छन्, 'ऋषि जब सूर्य चन्द्रमा ताराको किरण हुँदैन, वाणीको प्रकाश पनि हुँदैन जब व्यक्ति अन्धो, बहिरो र लाटो हुन्छ तब उ कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि याज्ञवल्क्य भन्छन् तब त्यो व्यक्ति आत्माको शक्तिमा आत्माको प्रकाशबाट प्रकाशित भएर काम गर्छ। अतः आत्मा नै हाम्रो शरीरको मूल हो । जबसम्म आत्मा हाम्रो शरीरमा छ तबसम्म यसको अर्थ छ । आत्मा बिना शरीर व्यर्थ छ ।