arrow

अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन : प्रकाशमान सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने ,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’ कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितीबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । कांग्रेस बचाउनुहोस् ।’

कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । कांग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको बताए । उनले भने,‘काँग्रेस कमजोर भए कम्युनिस्टहरुले लोकतन्त्र नै फालिदिन्छन् ।’ नेपाली काँग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि काँग्रेसले निभाउने बताए । विगतमा कम्युनिस्टहरुले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको बताए ।

दुई तिहाई मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको बताउँदै भने,‘कम्युनिस्टहरुले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो ।’ ओली सरकारको पालामा कम्युनिस्टहरुभित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ