arrow

फ्रान्स विश्वकपमा छानियो, काजखस्तानविरुद्ध एमबाप्पेको चार गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
embappe-france-2021.jpg

काठमाडौं । फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा छानिएको छ । युरोपेली छनोट अन्तर्गत शनिबार राति भएको खेलमा काजखस्तानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे एक्लैले ४ गोल गरे । डिफेन्डिङ च्याम्पियन फ्रान्सका लागि खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । थियो हर्नान्डेजले गोलका लागि पास दिएका थिए । 

१२ औं मिनेटमा किङ्सले कोमानको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

३२ औं मिनेटमा फेरि किङ्सलेको पासमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरे । फ्रान्सका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक थियो ।

५५ औं मिनेटमा हर्नान्डेजको पासमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ४–० को अग्रता दिलाए ।

५९ औं मिनेटमा एमबाप्पेको पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ५–० ले अग्रता बनायो । 

७५ औं मिनेटमा एन्टोइने ग्रिजम्यानको पासमा एड्रिन रोबिटले गोल गर्दै फ्रान्सलाई ६–० ले अग्रता दिलाए ।

८४ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई ७–० को अग्रता दिलाए ।

र, ८७ औं मिनेटमा मौसा डाबीको पासमा एमबाप्पेले व्यक्तिगत चौथो गोल गर्दै फ्रान्सलाई ८–० गोल अन्तरले जिताए । 

योसँगै समूह डी को खेलमा फ्रान्स ७ खेलमा १५ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा छानिइसकेको छ । शनिबार रातिको खेलमा बोस्निया एन्ड हर्जगोविनाले फिनल्याण्डसँग ३–१ को हार बेहोर्यो । 

यो खेलपछि पाँच टिम सहभागी समूह डीमा अब युक्रेन र फिनल्याण्डमध्ये एक टिम छनोट हुनेछ । फिनल्याण्डको ११, युक्रेनको ९ तथा बोस्नियाको ७ अंक छ । पुछारको काजखस्तानले सबै खेल खेलेर मात्र ३ अंक जोडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ