arrow

कारागारको नेतृत्व कसले गर्ने भन्ने विवाद : इक्वेडरमा ६८ कैदीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
prison-jail.jpg

गुयाक्वील, इक्वेडर । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । 

यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ ।

अहिलेको झडप भने शुक्रवार साँझ सुरु भएको थियो । झडपलाई नियन्त्रण गर्न कारागारभित्र गएको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको थियो । शनिवार पनि विवाद कायम रहेपछि कारागारबाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट थप सुरक्षा दिइएको थियो । 

घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु भएकाहरुको नामावली कारागारबाहिर टाँसिएको छ । मृतकहरूको सूची हेर्न कैदीका नातेदार तथा साथीहरुको भिड लागेको छ । 

कारागार भित्रको एउटा समूहका नाइके रिहा भए पछि उनको सट्टामा कस्ले नेतृत्व गर्ने भन्ने बारेमा सुरु भएको विवादले झडपको रुप लिएको हो । घटनाप्रति राष्ट्रपति गुलेमो लास्सोले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । उनले अराजकताबाट फाइदा लिने समूहलाई नियन्त्रण गर्न नयाँ व्यवस्थाको आवश्यकता रहेकोमा पनि जोड दिएका थिए ।
 
इक्वेडरका कारागारहरूका क्षमताभन्दा ९,००० बढी कैदीहरू रहेका अधिकारीहरूले बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ