arrow

इङ्गल्याण्ड विश्वकपमा छानियो, ह्यारि केनको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
harry-kane-england.jpg

काठमाडौं । इङ्गल्याण्ड कतारमा अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको खेलमा सान मारिनोमाथि १०–० को फराकिलो गोलले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपमा छानिएको हो । 

सान मारिनोले घरेलु मैदानमा इङ्गल्याण्डको भार थेग्न सक्दा फराकिलो हार बेहोर्न पुग्यो । इङ्गल्याण्डका लागि कप्तान ह्यारि केनले रेकर्ड गोल गरेका छन् । उनले यो खेलमा चार गोल गरेका छन् । 

योसँगै एकै वर्ष क्यालेन्डरमा सबैभन्दा बढी गोल गर्ने इङ्गलिश खेलाडी पनि बन्न पुगेका छन् । केनले सन् २०२१ मा मात्रै १६ गोल गरेका छन् । यसअघि सन् १९०८ मा जर्ज हिल्सडन तथा सन् १९२७ मा डिक्सि डिनले १२ गोलको रेकर्ड राखेका थिए । 

इङ्गल्याण्डका लागि ह्यारि माक्विरे, इमाइल स्मिथ रोवे, टाइरोन मिंगस्, टमी अब्राहम र बुकायो साकाले १–१ गोल गरे । इङ्गल्याण्डले एउटा आत्मघाती उपहार पाएको थियो । फिलिप्पो फाब्रीले आत्मघाती गरेका थिए । 

कमजोर सान मारिनोका दाँते कार्लोस रोस्सीले दोहोरो पहेंँलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । यो जितसँगै इङ्गल्याण्ड १० खेलबाट २६ अंकसहित शीर्ष स्थानमा रहँदै युएफा छनोटको समूह आईबाट विश्वकपमा पुग्न सफल भएको हो । 

अन्तिम खेलमा हंगेरीसँग २–१ गोल अन्तरले पराजित भएको पोल्याण्ड २० अंकसहित दोस्रो हुँदै छनोटका लागि प्लेअफ खेल्न पाउने भएको छ । 

तेस्रो भएको अल्बानियाको १८ अंक रह्यो । अन्तिम खेलमा सोमबार राति अल्बानियाले एन्डोरालाई १–० ले पराजित गर्यो । हंगेरी १७ अंकसहित चौथो, एन्डोरा ६ अंकसहित पाँचौं तथा अंकविहीन सान मारिनो पुछारमा रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ