arrow

रुसले सुरु गर्‍यो एस४०० हवाई रक्षा प्रणालीको वितरण, अमेरिकालाई झड्का

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
s-400-russia-india.jpg
फाइल तस्बिर

मस्को। रुसले भारतलाई एस४०० सतहबाट हवाई निशाना लगाउन सक्ने मिसाइल प्रणालीको वितरण सुरु गरेको एक वरिष्ठ रुसी अधिकारीले बताएका छन्। रुस सैन्य प्राविधिक सहयोगका लागि सङ्घीय सेवाका निर्देशक दिमित्री शुगाएभले स्पुतनिक समाचार एजेन्सीलाई सम्झौता र योजना अनुसार नै उक्त मिसाइल वितरण भइरहेको बताएका छन्।

दुवै पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय शिखर वार्ताका लागि भारत भ्रमणको तयारी गरिरहेको बेला यो घटनाक्रम आएको हो। भारतीय वायुसेनाले वितरणको बारेमा कुनै आधिकारिक टिप्पणी गरेको छैन। क्षेप्यास्त्र प्रणालीका केही पार्टपुर्जाको डेलिभरी सुरु भइसकेको र सबै मुख्य भाग भारत पुग्न बाँकी रहेको बताइएको छ।

सम्झौता कहिले हस्ताक्षर भयो ?
अक्टोबर २०१८ मा, भारतले रुससँग ५ बिलियन अमेरिकी डलरको वायु रक्षा मिसाइल प्रणालीका पाँच इकाईहरू किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको थियो। ट्रम्प प्रशासनको चेतावनीको बाबजुद यो सम्झौतालाई अगाडि बढाउँदा अमेरिकी प्रतिबन्धहरू निम्त्याउन सक्छ।

डिसेम्बर २०१५ मा रक्षा मन्त्रालयको डिफेन्स एक्विजिसन काउन्सिलले पहिलो पटक प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो रुस भ्रमणको केही दिनअघि यो सम्झौता अनुमोदन गरेको थियो।

यसअघि अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले गत महिना भारत भ्रमणको क्रममा एस४०० मिसाइल प्रयोग गर्ने कुनै पनि देशले खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले उक्त मिसाइल प्रणाली कसैको सुरक्षा हितमा नभएको बताएकी थिइन्। सोही क्रममा उनले अमेरिका र भारतबीचको खरिदमा देखिएको मतभेदलाई समाधान गर्ने विश्वास व्यक्त गरेकी छन्।

यस विषयमा भारत र अमेरिकाबीच छलफल भइरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ