arrow

कांग्रेस १४औं महाधिवेशन

प्रकाशमानलाई काठमाडौंकै भर, सिटौलालाई झापाको, काठमाडौंमा देउवाको मत कति ?

logo
एम गौतम, 
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
deuba-sitaula-singh-nc-leaders.jpg

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको नजिक छ । कांग्रेसका शीर्ष नेतृत्व यतिबेला महाधिवेशनमा मत आफ्नो पक्षमा पार्न शक्तिले भ्याएसम्म लागिरहेका छन् । अर्थात् महाधिवेशन प्रतिनिधिको हिसाबकिताब जोडतोडका साथ जारी छ ।१४औं महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवादेखि उपसभापति विमलेन्द्र निधि हुँदै महामन्त्री डा. शशांक कोइरालासम्मले आकांक्षा देखाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला र कल्याण गुरुङसम्म सभापति बन्ने दौडमा छन् । 

अहिले कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व छान्ने प्रयोजनका लागि धमाधम महाधिवेशन प्रतिनिधि चुन्ने काम गरिरहेको छ । यही क्रममा सबै भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुने काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा देखिएको परिणामले भने सभापतिका आकांक्षी मध्ये सिंहलाई भरथेक गर्ने देखिएको छ । 

काठमाडौंबाट चुनिएका दुई सय ५० महाधिवेशन प्रतिनिधिमध्ये सिंह निकट १३७ जना नेता महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यसैगरी सभापति देउवाले नेतृत्व गर्दै आएको संस्थापन पक्षका विभिन्न नेता निकट रहेका ६६ जना महाधिवेशन प्रतिनिधि चयन हुँदा पूर्व महामन्त्री सिटौला निकट ४१ जना महाधिवेशन प्रतिनिधि चयन भएको दाबी छ । केही महाधिवेशन प्रतिनिधिहरु भने कुनै पनि समूहमा खुलेका छैनन् । 

सिंहका पक्षमा काठमाडौं क्षेत्र नम्बर १ बाट १६ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । सो क्षेत्र सिंहको आफ्नै निर्वाचन क्षेत्र पनि हो । सो क्षेत्रबाट संस्थापन पक्ष निकट ८ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । दुई जना भने कतै पनि खुलेका छैनन् । 

यसैगरी काठमाडौं २ बाट सिंह निकट ५ जना चुनिएका छन् भने १६ जना संस्थापन समूह निकट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  

यस्तै काठमाडौं क्षेत्र नम्बर ३ बाट सिंह निकट ८ जना चुनिएका छन् भने संस्थापन पक्ष निकट रहेका १३ जना तथा सिटौला निकट ३ जना महाधिवेशन प्रतिनिधि चुनिएको बताइन्छ । 

यस्तै काठमाडौं क्षेत्र नम्बर ४ को स्थानीय राजनीतिमा वडा अधिवेशनदेखि नै सिंह र युवा नेता गगनकुमार थापाको निकटता रहँदै आएको देखिन्छ । 

सो क्षेत्रमा थापा निकटका २३ जना महाधिवेशन प्रतिनिधि चयन हुँदा २ जना भने संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । नेता थापासमेत १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनले आफ्नै निर्वाचन क्षेत्रबाट महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । 

यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ बाट ८ जना महाधिवेशन प्रतिनिधि सिंह निकट आएका छन् । सो निर्वाचन क्षेत्र कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको निर्वाचन क्षेत्र हो । 

सो क्षेत्रमा १३ जना महत निकट महाधिवेशन प्रतिनिधि चयन हुँदा ४ जना भने सिटौला निकट पनि चुनिएका छन् । सो क्षेत्रमा एक जना भने कतै पनि खुलेका छैनन् । 

यस्तै काठमाडौं क्षेत्र नम्बर  ६ मा १० जना प्रतिनिधि सिंहका पक्षबाट निर्वाचित बनेका छन भने १ जना संस्थापन र १५ जना सिटौला निकट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सो क्षेत्र नेता भीमसेनदास प्रधानको निर्वाचन क्षेत्र हो । उनी सिटौलासँग निकट छन् । 

यसैगरी काठमाडौं ७ मा सिंह निकट २४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने १ जना सिटौला समूहका चुनिएका छन् । 

यस्तै काठमाडौं ८ मा १७ जना सिंह निकट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सो क्षेत्रमा ७ जना संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि चयन हुँदा १ जना सिटौला पक्षका पनि चयन भएका छन् । सो क्षेत्र स्वर्गीय नेता नविन्द्रराज जोशीको क्षेत्र हो । 

यसैगरी काठमाडौं क्षेत्र नम्बर ९ मा सिंह निकट ५ जना, संस्थापन पक्ष निकट ४ जना तथा सिटौलासँग निकट रहेका १६ जना प्रतिनिधि चयन भएको बताइन्छ । 

यस्तै काठमाडौंको क्षेत्र नम्बर १० मा पूर्व महामन्त्री सिंह निकट २२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित बन्दा संस्थापन पक्षका १ तथा सिटौला समूहका १ जना प्रतिनिधि चुनिएको बताइन्छ । 

झापामा सिटौला पक्षका ८७ प्रतिनिधि 
१४औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गृह जिल्ला झापामा उनको पकड राम्रो देखिएको छ । ५ वटा निर्वाचन क्षेत्र भएको झापाबाट सिटौलाका पक्षमा ८७ जना महाधिवेशन प्रतिनिधि चुनिएको दाबी छ । 

झापामा संस्थापन पक्ष निकट रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र वरिष्ठ नेता पौडेल पक्षीय नेतृ सरिता प्रसाईबीच सहकार्य भएको थियो । 

सो पक्षबाट ४१ जना महाधिवेशन प्रतिनिधि चयन भएको बताइन्छ । काठमाडौं र झापाबाट चुनिएका महाधिवेशन प्रतिनिधि हेर्दा सिटौलाका पक्षमा १ सय २८ जना प्रतिनिधि देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ