arrow

सीसीएमसीसीको बैठक: नयाँ भेरियन्ट फैलिएसँगै थप कडाइ

केही देशबाट यात्रामा प्रतिबन्ध लगाउनेबारे सीसीएसीसीले गर्याे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
ccmcc.jpg

काठमाडौँ । विश्वका झन्डै आधा दर्जन बढी देशहरूमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसँगै महामारीको अर्को लहर फैलिन सक्ने त्रास बढेको छ ।

यसबिच विभिन्न देशहरूले ओमिक्रोन भेरियन्ट पत्ता लागेका देशबाट यात्रामा प्रतिबन्ध लगाएका छन्, भने स्वास्थ्य मापदण्ड थप कडाइका साथ लागु गर्न थालेका छन् ।

नेपालले पनि नयाँ भेरियन्टको सङ्क्रमण फैलिनबाट जोगिनका लागि पहल सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै दक्षिण कोरियाबाट नेपाल आउने नागरिकलाई क्वारेनटिनमा राखेर परीक्षण गरी जीन सिक्वेन्सिङ गर्ने भएको छ ।

यससँगै आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकसमेत बसेको छ । समितिका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बैठक बसेको हो ।

समितिको नियमित बैठक भए पनि थप निगरानी बढाउने र केही देशमाथि यात्रा प्रतिबन्ध लगाउने कि भन्ने विषयमा छलफल भएको समितिकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

'निष्कर्ष नै त भएकाे छैन, नियमित बैठक हो तर थप निगरानी बढाउने र केही देशबाट यात्रा प्रतिबन्ध लगाउने कि भन्ने छलफल भएको छ,' उनले भनिन् । 

अहिलेसम्म दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, बेल्जियम, बेलायत, इटाली, इजरेल, बोत्सवना र हङकङ लगायतका देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ ।

यो भेरियन्टले धेरै नै स्वरूप परिवर्तन गरेका कारण थप सङ्क्रामक, घातक एवं खोप समेत कम प्रभावकारी हुनसक्ने भन्ने आशङ्का बढेको छ ।

यद्यपि, यसबारे यकिन जानकारी आउन भने अझैँ केही दिन लाग्ने विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ