arrow

नागाल्याण्डमा कर्फ्यू , १४ सर्वसाधारण मारिएपछि तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
nagaland.jpg

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा सुरक्षा बलले १४ जना सर्वसाधारणको हत्या गरेपछि तनाव बढेको छ । शुरुमा शनिबार साँझ सुरक्षा बलले आतंकवादी ठानेको भन्दै कोइला खानीमा काम गर्ने भनिएका ६ जना सर्वसाधारणको हत्या गरेको थियो ।

सुरक्षा बलले आतंकवादी ठानेर आक्रमण गरेको भनेपनि सर्वसाधारणले सेनाको दाबीलाई झुटो बताएका छन् । त्यसपछि शनिबार राति र आइतबार बिहान सुरक्षा बलले गोली चलाएपछि थप ८ जना सर्वसाधारण मारिएका थिए ।

यसरी १४ जना मारिएपछि सर्वसाधारणले विरोध प्रदर्शन गरिरहेका छन् । तर भारतीय अधिकारीहरूले प्रदर्शनलाई नियन्त्रण गर्न इन्टरनेट सेवाहरू बन्द गर्दै कर्फ्यू लगाएका छन् । घरेलु सुरक्षाको लागि जिम्मेवार भारतीय गृहमन्त्री अमित शाहले घटनामा गहिरो दुःख व्यक्त गरेका छन् । 

यस्तै नागाल्याण्ड राज्य सरकारले विशेष अनुसन्धान टोली (एसआईटी) को नेतृत्वमा उच्च स्तरीय छानबिन गर्ने बताएको छ । सेनाले पनि कोर्ट अफ इन्क्वारी बोलाएको छ । 

पछिल्लो समय नागाल्याण्डमा यस्ता घटनाहरु बढ्दै गएका छन् । भारतीय सुरक्षा बलहरूले यसअघि पनि त्यहाँका स्थानीयहरुमाथि यसरी कारबाही गरेको आरोप छ । पछिल्लो पटकको यो घटना नागाल्याण्डको मोन जिल्लामा भएको हो । 

नागाल्याण्ड भारतको सबैभन्दा पुरानो जातीय विद्रोहको ठाउँ हो । यहाँको सशस्त्र आन्दोलनले नागाल्याण्ड, आसाम, मणिपुर, अरुणाचल प्रदेश र म्यानमारका छिमेकी राज्यहरूका सबै नागा बस्ती क्षेत्रहरू समावेशसहितको सार्वभौम क्षेत्रको माग गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ