arrow

शिक्षणलाई सिकाईसँग, सिकाईलाई उत्पादनसँग जोड्नु पर्छ : मन्त्री पौडेल

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
262614835_600731534517343_714780734022606851_n.jpg
शिक्षामन्त्री पौडेल

कावासोती । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षणलाई सिकाईसँग र सिकाईलाई उत्पादनसँग जोड्ने शिक्षा प्रणाली सरकारले अगाडि बढाउने तयारी गरेको बताएका छन् । नवलपुरको सरस्वती माध्यमिक विद्यालय कावासोती ४ हसौराको ४६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

पौडेलले शिक्षणलाई सिकाईसँग र सिकाइलाई उत्पादनसँग जोड्नका लागि बजेटमा नीतिगत व्यवस्था गरिसकिएको र अब छिट्टै पढ्दै कमाउने कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधि बनाएर विद्यालयहरुबाट प्रस्ताव आह्वान गर्ने गरी शिक्षा मन्त्रालय अगाडि बढेको बताए ।

तीन वर्षभित्र सबै विद्यालयका भौतिक पूर्वाधारहरुको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताउँदै मन्त्री पौडेलले अबको शिक्षालाई उत्पादनमुखी बनाउने दिशामा सरकार अगाडि बढेको जिकिर गरे ।

सरकारले निजी क्षेत्रले लगानी गरेका शिक्षण संस्थाहरुलाई राज्यले बनाएको नीति अनुरुप नियमन गर्ने र प्रोत्साहन गर्दै जाने बताएका मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई व्यवस्थित गर्ने, सुदृढ बनाउने दिशामा सरकार अगाडि बढेको धारणा व्यक्त गरे । 

सार्वजनिक शिक्षा सुदृढ बनाउन शिक्षकहरुको महत्वपूर्ण  भूमिका रहने भन्दै मन्त्री पौडेलले शिक्षकका सबै खाले सम्स्या समाधान गर्ने बाटोमा सरकार अगाडि बढेकाले शिक्षकहरुलाई पनि जिम्मेवार हुन आग्रह गरे ।

विद्यार्थीलाई कोरोना विरुद्धको खोप विद्यालयमै

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले १२ देखि १८ वर्ष सम्मका विद्यार्थीहरुलाई स्वास्थ्यकर्मी विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गरिन लागेको बताए । 

यस विषयमा आफूले स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवसँग आवश्यक परामर्श गरेर तयारी बढाएको मन्त्री पौडेलको भनाइ थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ