ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा ४ गुणा बढी सङ्क्रामक
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
876
Shares
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले खोप लगाएका र एक पटक सङ्क्रमित भइसकेकाहरूलाई फेरि सजिलै सङ्क्रमण गर्न सक्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले बुधबार यस्तो बताएका हुन् ।
उनले भनेका छन्, 'दक्षिण अफ्रिका प्रारम्भिक तथ्याङ्कले ओमिक्रोनमा पुन सङ्क्रमणको जोखिम बढी रहेको देखिन्छ तर, यसले डेल्टा भेरियन्ट भन्दा कम बिरामी पार्ने देखिन्छ ।' ओमिक्रोन बढी सङ्क्रामक भए पनि मध्यम किसिमको बिरामी बनाउने गरेको प्रारम्भिक तथ्याङ्कले देखाएको डब्ल्यूएचओका प्रमुख डा.गेहब्रेयससले बताएका हुन् । यद्यपि, यस विषयमा ठोसरुपमा यकिन हुन थप तथ्याङ्क आवश्यक रहेको उनले बताएका छन् ।
यस्तै जापानको एक पछिल्लो अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा ४.२ गुणा बढी सङ्क्रामक रहेको देखाएको छ । जापानका स्वास्थ्य मन्त्रीका सल्लाहकार एवं क्योटो विश्वविद्यालयमा स्वास्थ्य र वातावरण विज्ञानका प्राध्यापक हिरोशी निशिउराको अध्ययनले ओमिक्रोन बढी सङ्क्रामक देखाएको हो ।
उनले दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको नोभेम्बर २६ को जिनोमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेका हुन् । बढी सङ्क्रामकसँगै ओमिक्रोन भेरियन्टमा प्राकृतिक प्रतिरक्षा अर्थात् एक पटक सङ्क्रमण भइसकेकोलाई भन्दा खोप लगाएकालाई सङ्क्रमण गर्ने क्षमता झन् बढी उनको अध्ययनले देखाएको छ । यद्यपि, यो अध्ययन जर्नलमा प्रकाशित हुन बाँकी छ ।
डेल्टा भेरियन्ट भन्दा पनि अत्यधिक उत्परिवर्तन रहेकाे ओमिक्रोन भेरियन्टले बढी संक्राम रहेको ठानिएपछि अहिले विश्वभरका मुलुकहरूले फेरि कडाइ सुरु गरेका छन् । यसबीच ओमिक्रोन भेरियन्ट कति सङ्क्रामक र घातक छ भन्ने तथ्याङ्कहरू बाहिरिन थालेका हुन् ।