arrow

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म, समीकरण रोचक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
congress-14th-closing-session2.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
हिजोदेखि शुरु भएको महाधिवेशनको पहिलो दिन उद्घाटन तथा बन्द सत्र भएको थियो । भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा हिजो राति ९ बजेदेखि बसेको छोटो बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएको थियो । 

यसैगरी बन्द सत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेश भएको थियो । पेश गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिएको छ । 

यसअघि हिजो भृकुटीमण्डपको प्राङ्गणमा महाधिवेशनको भव्यरूपमा उद्घाटन सम्पन्न भएको थियो । 

उम्मेदवारी समीकरण रोचक बन्दै
उम्मेदवारी समीकरण रोचक बन्दै गएको छ । संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । उनले उद्घाटनमै आफूलाई भोट मागे । उनले आफू पुनः सभापति हुने बाहेक कुनै सम्वोधन नै गरेनन् । अर्थात् उनलाई सभापति बन्न हतारो भएको देखिएको थियो । 

चिसो मौसममा धैर्य गरेर बस्ने कसैलाई पनि उनले सम्वोधन गरेनन् । विदेशबाट आएकादेखि स्वदेशबाट आएका अन्य दलका अध्यक्षहरुलाई धन्यवाद दिएनन् । बस् यो महाधिवेशनको लक्ष्य नै नयाँ कार्यसमिति चयन गर्ने भएकाले उनी सीधै लाइनमा आएर बोले । 

उनको सभापतिमा उम्मेदवारी त हुन्छ नै उनलाई तेस्रो धार मान्दै आएको कृष्णप्रसाद सिटौला पक्षले पनि सघाउने भएको छ । देउवा–सिटौलाबीच चुनावी तालमेलमा सहमति भएपछि देउवा ढुक्कजस्तै देखिएका छन् । 

हिजोमात्रै देउवा–सिटौलाबीच सहमति भएको थियो । यसअनुसार सिटौलाले सम्भवतः उपसभापतिमा उम्मेदवारी दिनेछन् । 

त्यस्तै सिटौला पक्षबाट महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाउने सहमति भएको छ । 

इतर पक्ष अलमलमै 
यता १३ औं महाधिवेशनमा देउवालाई सिटौलाले सघाएसँगै देउवा सभापति भएका थिए । अहिले फेरि सिटौलाले देउवालाई सघाउने भएका छन् । तर इतर पक्ष भने अलमलमै छ । अहिलेसम्म आफ्नो साझा उम्मेदवार तय गर्न सकेको छैन । 

रामचन्द्र पौडेलको पक्षमा अन्तिम सहमति हुने सम्भावना पनि देखिन्छ । तर प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच अझै सहमति हुन सकेको छैन । सिंहले आफू कुनै पनि हालतमा सभापतिमा चुनाव लड्ने पक्षमा छन् । 

शेखर भने पौडेलका पक्षमा लचक छन् । डा. शशांक कोइरालाले पौडेललाई सहमति गरेका छन् । यता अहिलेसम्मको राजनीतिमा देउवासँगै रहेका विमलेन्द्र निधीले समेत आाफ्नो सभापतिको होडलाई छाडेर पौडेललाई सर्वसम्मति गर्न आग्रह गरेका छन् । 

तर अहिलेसम्म सहमति हुन सकेको छैन । सभापतिको उम्मेदवारमैै सहमति हुन नसकेपछि अन्य पदाधिकारीका आकांक्षी पनि अलमलमा छन् । 

बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन छ । तर अहिलेसम्म प्यानल खडा हुन सकेको छैन । देउवा र इतर पक्ष छुट्टाछुट्टै छलफलमै छन् ।  

अन्तिम नामावली कस्तो आउने हो भन्ने प्रतिक्षा रोचक बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ