arrow

पन्ध्रौँ महाधिवेशन सबैको साझा हुन्छ तर चौधौँको सबै कुरा गर्ल्यामगुर्लुम मिसाउने काम हुँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
gagan-thapa-09-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी १५औँ महाधिवेशन पार्टीका सबै सदस्यहरूको साझा हुने भएकाले कुनै पनि आधारमा विभेद गर्न नहुने स्पष्ट पारेका छन्।

झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका कुनै पनि समूहका आधारमा अब विभेद गर्न नपाइने बताए।

उनले यस्तो अभ्यासको चरण समाप्त भएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। ‘अब पन्ध्रौँ महाधिवेशन सबैको हो, विभेद गर्ने कुरा हुँदैन, पाइँदैन, हुँदैन,’ उनले भने।

थापाले पार्टीभित्र देखिएका असन्तुष्टिहरूलाई स्वीकार गर्दै सबै पक्षलाई समेटेर लैजाने प्रयास भइरहेको बताए।

उनले नेताहरूप्रति सम्मान व्यक्त गर्दै संवादमार्फत समाधान खोजिने स्पष्ट पारे।

‘मेरो अत्यन्त सम्माननीय नेताहरू हुनुहुन्छ, उहाँहरू सबैलाई मैले हात जोडेर भनेको छु,’ उनले भने, ‘महाधिवेशन निष्पक्ष बनाउन जे गर्नुपर्ने हो, म सबै गर्न तयार छु।’

क्रियाशील सदस्यता प्रक्रियालाई लिएर उठेका गुनासाबारे बोल्दै उनले कुनै समस्या देखिए समाधान गर्न नेतृत्व तयार रहेको बताए।

उनका अनुसार असार महिनाभर नयाँ क्रियाशील सदस्यता खुला गरिएको छ। त्रुटि भएको भन्ने लागेमा नाम प्रस्ताव गर्न सकिने र त्यसका आधारमा छानबिन समिति गठन गर्न सकिने उनले बताए।

‘को मान्छे राख्ने हो भन्नुहोस्, जसको नाम भन्नुहुन्छ उसको नेतृत्वमा म सदस्यता छानबिन समिति बनाइदिन्छु,’ उनले भने।

महाधिवेशनको निर्वाचन प्रक्रियाबारे उनले सबै काम डिजिटल प्रणालीमार्फत हुने भएकाले पारदर्शिता सुनिश्चित हुने दाबी गरे।

निर्वाचन समितिलाई लिएर शंका भए सबै पक्षको सहमतिमा नयाँ समिति गठन गर्न सकिने पनि उनले उल्लेख गरे।

महाधिवेशन व्यवस्थापनका लागि अलग्गै व्यवस्थापन समिति पनि बनाउन सकिने जानकारी दिँदै उनले पार्टी सञ्चालन विधानअनुसार मात्र हुने स्पष्ट चेतावनी दिए। उनले विधानभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने बताए।

‘म विधानभन्दा माथि छैन,’ उनले भने, ‘तर विधानविपरीत १५औँमा १४औँ महाधिवेशनका सबै कुरा गर्ल्यामगुर्लुम मिसाउने कुरा म गर्न सक्दिनँ। म सभापति हुँ विधान मिच्न सक्दिनँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ