arrow

संस्थापन इतर पक्ष साझा उम्मेदवार बनाउन असफल, प्रकाशमान सिंह अवधारणा सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
Prakashman-Singh.jpg
तस्बिर– फाइल

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आज नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ’, लामिछानेले भने । संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। 

हालको समीकरण अनुसार संस्थापन इतर समूहबाट सिंह र डा. शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् ।

उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति विमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् । उनले इतर पक्षलाई साझा उम्मेदवारका लागि रामचन्द्र पौडेलका नाममा सहमति गर्न आग्रह गरेका थिए । 

तर पौडेलका नाममा डा. शशांक कोइराला र डा. शेखर समेत राजी भए पनि प्रकाशमान सिंह भने आफू नै उम्मेदवार हुनुपर्छ भनेर लागिरहेका छन् । 

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ ।

मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ