arrow

शेरबहादुर देउवाले सिटौलालाई साथमा लिएर दिए सभापतिमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
deuba-election-.jpg

काठमाडौं । नेपाली कांग्रेसको पुनः सभापति पदका लागि शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको साथ पाएर सभापति बनेका देउवालाई यसपालि पनि सिटौलाले नै साथ दिएका छन् । 

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न जाँदा देउवासँग सिटौला पनि रहेका थिए । उनले आफ्नो समूहबाट संस्थापन टिममा महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई पार्न सफल भएका छन् । 

उनले देउवाको उम्मेदवारी दर्तापछि संचारकर्मीसँग आफूले केन्द्रीय सदस्यमासमेत उम्मेदवारी नदिएको र सडकबाटै झन् सशक्त भएर लाग्ने बताएका छन् । 

सभापतिका लागि देउवासँगै विमलेन्द्र निधी, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ्ग र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । 

संस्थापनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारको उम्मेदवारी परेको छ । 

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको थियो । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ