arrow

अपाङ्गता भएकाको हक स्थापित गर्दै हिँडेका चम्लागाईं थप सशक्तताको मत माग्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
madhav2.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले विभिन्न क्षेत्र र क्लस्टर गरी एक सय ३४ सदस्यीय कार्यसमितिलाई निर्वाचित गर्दैछ । दुई जना निर्विरोध भएकामा बाँकी १३२ जनाका लागि अहिले मतदान भइरहेको छ । उम्मेदवारहरुले मतदातासँग मत मागिरहेका छन् । 

सोही क्रममा आमसंचार माध्यम र विभिन्न अभियानमार्फत अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा राष्ट्रिय स्तरमा स्थापित गराउँदै आएका पत्रकार माधवप्रसाद चम्लागाईंले पनि मत मागिरहेका छन् । उनी अपाङ्गता कोटाबाट केन्द्रीय सदस्यमा लडिरहेका हुन् । 

शुक्रबारदेखि शुरु भएको कांग्रेसको १४ औं महाधिवेशनमा उनी उम्मेदवार बनेर केन्द्रीय सदस्य बन्न खोज्नुको उद्धेश्य हो अपाङ्गता भएकाको हक स्थापित गर्न थप मद्धत पुग्नु । थोरैमात्र राजनीतिक पहुँच बढी हुँदा पनि सम्बन्धित निकायबाट काम गराउन सजिलो हुन्छ । 

त्यसको मर्म बुझेका उनले समाजसेवाको बाटो अझ बढी फराकिलो बनाउन उनी निरन्तर लागिरहेका हुन् । डेढ दशक बढी समयदेखि सक्रिय पत्रकारितामा रहेका चम्लागाईं इलाम जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका थिए । ०६२–०६३ को जनआन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व गर्दै अधिकार स्थापनाका लागि खटिएका उनी पत्रकारिताका माध्यमबाट निरन्तर समूदायका मुद्दामा कलम चलाउँदै आएका छन् ।

‘करिब दुई दशकदेखि कांग्रेसको क्रियाशील सदस्य रहँदै डेढ दशकदेखि पत्रकारितामा रहेर अपाङ्गता भएका व्यक्तिहरुका लागि कयौं पटक ज्यानको परवाह नराखी खटियो । राष्ट्रिय स्तरमा विभिन्न मुद्दाहरु स्थापित गराउन लागि परियो । अब पार्टीभित्रै बसेर अपाङ्गता, अल्पसंख्यक र पिछडिएका वर्गहरुका लागि लड्ने निधो गरेको हुँ’ उनले भने ।

उनले आफ्नो उम्मेदवारीका बारेमा जानकारी दिंदै निष्ठा र पार्टीको सिद्धान्तलाई शिरोपर गर्दै कांग्रेसको नीति र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई अझ शसक्त ढंगले स्थापित गराउन आफ्नो उम्मेदवारी रहेको जनाए ।

अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा लगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएर पृथक परिचय बनाएका चम्लागाईंले कलिलो उमेरमै कांग्रेसको क्रियाशील सदस्यता लिएर लोकतन्त्रको प्रवर्धन र सम्वर्धननमा क्रियाशील छन् । उनले पार्टीको राजनीतिबाट नागरिक स्वतन्त्रता, मानव अधिकार, विकास निर्माण लगायतका क्षेत्रमा आफ्नो समय खर्चिने पनि बताए ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चम्लागाईंले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै २०७६ फागुन १४ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटलाई तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिहरूले पनि सगरमाथा आरोहण गर्न पाउनेगरी फैसला गरेको थियो । उक्त फैसलापछि अपाङ्गता भएका व्यक्तिहरुको ठूलो अधिकार स्थापित बनेको थियो । उक्त फैसला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अधिकार प्राप्तीको ऐतिहासिक नजिरका रुपमा स्थापित बनेको थियो ।

उक्त फैसलापछि चम्लागाईंसँग जोडिएका समाचारहरु राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ प्रकाशित भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिमा जन्मिएका चम्लागाईं काठमाडौंमा रहेर इलामका विकाससँग सम्बन्धित महत्वपूर्ण काममा योगदान दिंदै आएका छन् ।

‘लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने मेरो प्रयास हो । त्यसकै लागि मेरो उम्मेदवारी हो,’ उनले भने । उनी विगत डेढ दशकदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । साथै कांग्रेसको केन्द्रीय प्रचार विभागको अनलाइन संचारमाध्यम कार्यदलमा बसेर पनि काम गरिसकेका छन् ।

इलामेली विद्यार्थी मन्चको अध्यक्षसमेत भएर काम गरिसकेका उनी नेपालको चर्चित संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक मध्येका एक हुन् । उनी आमसंचार तथा पत्रकारिता विषयका स्नातकोत्तर पनि हुन् । उनी जिल्ला तथा केन्द्रीय स्तरमा रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि निरन्तर क्रियाशील छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ