arrow

स्कूलमा कक्षा चल्दाचल्दै अकस्मात मन्त्री पुगेपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
devendraaa.jpg

पोखरा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पोखराको शीतलादेवी सामुदायिक विद्यालयमा पुगेर अवलोकन गरेका छन् । विगत केही वर्षदेखि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको शीतलादेवीमा मन्त्री पौडेलले अवलोकन गरेका हुन् ।

कुनै जानकारी नगराई आश्चर्यजनक ढंगले मन्त्री पौडेल विद्यालयमा पुगेका थिए । मन्त्री पुगेको शुरुमा कसैले पनि पत्तो पाएका थिएनन् । कक्षा चल्दा चल्दै मन्त्री पौडेल कक्षा कोठाभित्र पसेपछि शिक्षक र विद्यार्थी आश्चर्यचकित भए । त्यसपछि शिक्षक र विद्यार्थी सबैले उठेर मन्त्रीलाई नमस्कार गरे । उनी शुरुमै कक्षा ५ मा प्रवेश गरे । मन्त्री पौडेलले विद्यार्थीसंग भलाकुसारी पनि गरेका थिए । 

विद्यार्थीसंग मन्त्री पौडेलले गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राखे । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैं समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताएका थिए ।

मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुशाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिए । राम्रो अध्ययन गरेर देशको राम्रो मान्छे बन्न उनले विद्यार्थीलाई सुझाव दिए ।

शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन् ।

शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए ।

मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाई भएका र कमजोर पढाई भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए। मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिएका थिए ।

विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताए । विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उनलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुशी लागको उनले बताए ।

उनले भने, ‘मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगतिसहित विद्यालयका समस्याका बारेमा राख्ने अवसर मिल्यो । शिक्षक दरबन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ ।’

मन्त्री पौडेलले विद्यालयको गुणस्तरीय शिक्षा, बढ्दो विद्यार्थी संख्या र आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालकै नमुना विद्यालयको रुपमा रहेको पोखराको शीतलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७२ र २०७५ प्राप्त गरेको थियो भने प्रदेश प्रमुख शिक्षा पुरस्कार २०७६ प्राप्त गरेको थियो ।

विद्यालयमा हाल माध्यमिक तहमा एक मात्र सरकारी दरबन्दी छ । विद्यालयमा ६४ जना शिक्षक/कर्मचारी कार्यरत छन् । अधिकांश शिक्षक निजी स्रोत अन्तर्गत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ