arrow

तीन सभापतिका प्रत्याशीको समर्थन देउवालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
prakashman-nidhi-gurung.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई तीनै सभापतिका प्रत्याशीले समर्थन गर्ने भएका छन् । दोस्रो चरणमा हुन लागेको निर्वाचनमा सभापति देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङलेले समर्थन गर्ने भएका हुन् । 

मङ्गलवार बिहान चाक्सीबारी पुगेका देउवालाई समर्थन गर्ने सिंहले बचन दिएका छन् । विधान संशोधन र पार्टीमा भइरहेको कमीकमजोरीलाई सुधार गरेर लैजाने देउवाले प्रतिबद्धता जनाएकाले देउवालाई नै समर्थन गर्नुपर्ने अवस्था आएको सिंहको भनाइ छ ।

त्यस्तै सभापतिकै अर्का प्रत्याशी बिमलेन्द्र निधिको समर्थन देउवालाई रहेको छ । नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गरेको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । 

अर्का सभापतिका प्रत्याशी रहेका कल्याण गुरुङले पनि समर्थन गर्ने भएका छन् । हिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका छन् । उनले आफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए । 

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदै छ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ