- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रवारदेखि हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव सात डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस छ ।