arrow

केन्द्रीय सदस्य खुलाको मतगणना जारी, ३५ रहने ६४ बाहिरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
congress-voting.jpg

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि शुरु भएको मतगणनाको सुरुवाती परिणाम भने केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

बिहान १० बजेदेखि मतगणना शुरु हुने भनिएको भए पनि एक घण्टा ढिला गरी मतगणना भइरहेको हो । गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिने छन् ।

चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ । केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ । 

संस्थापन इतरबाट समूह मिलाउन नसकेर सभापतिका आकांक्षी भएर पनि अन्तिम समयमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा। शशांक कोइराला, सभापतिमै लड्ने अठोटसहित प्रचार गरेर केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगेका गोपालमान श्रेष्ठको भिडन्त रोचक रहने छ । 

त्यस्तै उपसभापतिको उम्मेदवार हुने निश्चित जस्तै भएर पनि नेतृत्वमा साझा उम्मेदवार हुन्छ भने आफूले उपसभापति छाड्न तयार छु भनेर सदस्यमै उठेका अर्जुन नरसिंह केसी, संस्थापन पक्षमा भागबण्डा मिलाउन नसकेर महामन्त्रीका आकांक्षी भए पनि केन्द्रीय सदस्यको उम्मेदवारमा चित्त बुझाउन पुगेका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतको भिडन्त रोचक हुनेछ । 

त्यस्तै केन्द्रीय सदस्यमा पहिलो पटक पदार्पण गर्न लागेका वौद्धिक क्षेत्रका प्राडा गोविन्दराज पोखरेल, पर्यटन व्यवसायी राजेन्द्र बजगाई, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीदेखि तरुण दलका अध्यक्ष जितजंग बस्नेतदेखि नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना लगायतको  आकांक्षाको गणना पनि रोमाञ्चक नै हुनेछ । 

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै तीन केन्द्रीय सदस्यको पनि परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश २ को खुलाबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल तथा महिलाबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

हरेक प्रदेशबाट २ खुला र १ महिला गरी तीन जना केन्द्रीय सदस्यहरु केन्द्रमा आउने छन् । 

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । 

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ