arrow

राष्ट्रियसभा निर्वाचनमा दुई हजार २५ मतदाता, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
election-commission1.jpg

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई हजार २५ जना मतदाता सहभागी हुने भएका छन् । २० फागुनमा रिक्त हुने १९ पदका लागि निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी गरिरहेको छ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरु ५ सय ३२ जना तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १४ सय ९३ गरी जम्मा दुई हजार २५ जना मतदाता कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली १ पुसमा स्वीकृत गरिसकेको छ। निर्वाचनका लागि २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलहरुलाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको छ। निर्वाचन कानूनअनुसार कुनै पनि निर्वाचन अघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ।

आयोगले २० पुसमा नै मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।

यसैगरी २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरुमा १२ माघमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ।

निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरु तोकिएको छ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ।

यसैगरी प्रदेश २ को लागि महेन्द्रनारायण निधी भवन जनकपुर, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने निर्वाचन आयोगले जनाएको छ।



नयाँ