काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर मार्केटमा दलाल पुँजीवादहरूको एकाधिकार रहेको भन्दै आलोचना गरिरहेका बेला आफ्नो राजनीतिक दस्ताबेजमा पनि पूजिवादी एकाधिकारवादलाई तोड्नु पर्ने उल्लेख गरेका छन्। राष्ट्रिय सम्मेलनमा छलफलका लागि पेस गर्नका लागि बनाइएको राजनीतिक प्रतिवेदनमा नेपालमा अझै पूजिवादी हरू हाबी रहेको र उनीहरूको एकाधिकार लाई तोड्नुपर्ने उल्लेख गरेका छन्।
‘माक्र्सले औद्योगिक पुँजीवादसँग लड्ने, लेनिनले साम्राज्यवादी एकाधिकार पुँजीवादसँग लड्ने र माओले संशोधनवाद र साम्राज्यवादसँग लड्ने तरिका खोज्नुभयो, अब हामीले यो भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादसँग लड्ने तरिकाको खोजी गर्नुछ,’ आफ्नो प्रतिवेदनमा उल्लेख गरेको स्रोतले जनाएको छ। बहुराष्ट्रिय कम्पनीलाई स्थानीय तहसम्म प्रवेश दिन नहुने उनको दस्ताबेजमा उल्लेख छ। ‘स्थानीय तहमा हाम्रो प्राकृतिक स्रोत साधनलाई लुट्न आउने विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई तलै जानबाट रोक्नुपर्यो,हाम्रो जङ्गल, पानी, भूमि दिँदैनौँ, हाम्रो जडीबुटी दिँदैनौँ भन्नुपर्यो साम्राज्यवाद र तिनका दलालहरूले गर्ने क्रियाकलापलाई रोक्न सबै जनतालाई नेतृत्व गर्नुपर्यो,’ उनले आफ्नो दस्ताबेजमा उल्लेख गरेको स्रोतको दाबी छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने दस्ताबेजमा प्रचण्डले राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, देशभित्रका विभिन्न पार्टीको अवस्था समेत उल्लेख गरेको स्रोतले जनाएको छ।
प्रचण्डले आफ्नो दस्ताबेजमा एमाले र केपी ओलीलाई गाली गरेका छन्। प्रचण्डले दस्ताबेजमा एमाले अध्यक्ष ओलीप्रति आक्रोश व्यक्त गर्दै एमालेले हालै गरेको दसौँ राष्ट्रिय महाधिवेशनले केही नयाँ विचार ल्याउन नसकेको, राष्ट्रिय समस्याबारे मौन बसेको उल्लेख गरेका छन्। ‘एमालेको अधिवेशन त विधि पद्धतिमाथि छलफल नै नभएको निरङ्कुश, विचार शून्य अधिवेशन हो, त्यहाँ मार्क्सवादको होइन, व्यक्ति पूजा भयो, एमाले समाजवाद केन्द्रित छैन, जनतालाई अधिकार दिने कुरामा केन्द्रित छैन, यो संविधानलाई सुधार गर्ने दृष्टिकोण बोक्दैन,’ सो प्रतिवेदनमा उल्लेख छ।
माओवादी अध्यक्ष प्रचण्डले नेकपाबाट एमाले र माओवादीलाई छुट्टाउने सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको अवस्थामा माओवादीले पूजिवादी प्रणालीको र एमालेलाई गाली गरेर राजनीतिक प्रतिवेदन तयार पारेको हो। माओवादी अहिले गठबन्धनप्रति भने लचिलो देखिएको छ।
अध्यक्ष प्रचण्ड सत्तारुढ गठबन्धनमा सहभागी दलहरूप्रति भने नरम देखिएका छन्। राजनीतिक दस्ताबेजमा उनले संविधान, व्यवस्थामाथि अझै पनि खतरा रहेकोले गठबन्धन आवश्यक रहेको उल्लेख गरेका छन्। आगामी चुनावसम्मै गठबन्धन कायम राखेर संविधान र व्यवस्थालाई ट्याकमा ल्याउनुपर्ने प्रचण्डले जोड दिएका छन्।
उनले विभिन्न कम्युनिस्ट घटकहरूसँग फेरि एक पटक एकता गरेर व्यवस्था जोगाउनुपर्ने उल्लेख गरेका छन्। माओवादी घटकहरूबिचको एकता हुनुपर्ने उनको प्रस्ताव छ। विश्वमै कम्युनिस्टहरू रक्षात्मक बनेको विश्लेषण गर्दै प्रचण्डले पुँजीवादसँग लड्ने तरिकाको खोजी गर्नुपर्ने उल्लेख गरेका छन्। माओवादी निकट नेताहरूका अनुसार यस पटक अध्यक्ष प्रचण्डले माओवादीभित्रका कमजोरी पनि औँल्याएका छन्। ‘हामी शान्तिपूर्ण राजनीतिमा आएपछि अन्य बुर्जुवा पार्टीजस्तै भएका छौँ, हामीले हाम्रा कार्यभार बिर्सेका छौँ, जनयुद्धमा साथ दिने जनता भुलेका छौँ,’ प्रचण्डको दस्ताबेजको उल्लेख गरेका छन्।
प्रचण्डले एक पटक फेरि जुझारु र क्रान्तिकारी पार्टी बनाउने सङ्कल्प गरेका छन् । देशभर पार्टी सदस्यता लिने सङ्ख्या बढेपछि प्रचण्ड उत्साहित भएर माओवादी केन्द्रको सदस्यता ८ लाख पुगेको र नयाँ रूपान्तरित पार्टी बनाउन त्यो सङ्ख्या काफी रहेको दस्ताबेजमा उल्लेख गरेका छन्। उनले आगामी चुनावमा देशको सबैभन्दा ठुलो पार्टी बन्ने योजनासहित अघि बढ्नुपर्ने बताउँदै आएका छन्।
‘विचारले प्रस्ट भएर आक्रामक रूपमा अघि बढ्यौँ भने हामीलाई कसैले रोक्न सक्दैन, हामीले जित्छौँ,‘हामी हाम्रो उद्देश्यबाट अलिकति विचलित हुन थालेका छौँ, हाम्रो वैचारिक स्तर कमजोर हुँदै गएको छ,’ प्रतिवेदनमा प्रचण्डले उल्लेख गरेका छन्।